सर्पले टोकी हालेमा के गर्ने ? के नगर्ने ?

- नेपाली हेल्थ

 

डा. शेरबहादुर पुन

बेवास्ता गरिएको स्वास्थ्य समस्या :

वर्षायामको आगमनसंगै विभिन्न खालका सरुवा रोगको जोखिम देखिन थालेको छ ।  देशका विभिन्न भागबाट झाडा पखाला, हैजा, टाईफाईड, जन्डिस, फ्लु आदिको प्रकोप बढ्न थालेको समाचारहरु आउन थालेका छन् ।

हालै मात्र राजधानीमा स्वाइन फ्लु देखियो र मानिसको मृत्यु समेत भयो भन्ने समाचार आयो । सो समाचार पछि स्वाइनफ्लु प्रतिको चासो निक्कै बढ्यो पनि । यसपटक मात्रै होइन यो सिजनमा देखिने स्वाइनफ्लू र त्यसले गराउने एक दुई मृत्युको हरेक बर्ष प्रमुखताका साथ समाचार बन्ने गर्छन र सो केशलाई सम्वन्धीत निकायले पनि अति चासोपूर्वक हेर्ने गरेको छ ।  तर यसै सिजनमा देखा पर्ने सर्प दंश अर्थात सर्पको टोकाइले हुने दर्जनौँ मृत्युमा भने कसैको ध्यान पुगेको देखिदैन ।

यस हिसावले पनि सर्प दंशलाई नेपालमा बेवास्ता गरिएको स्वस्थ समस्या भन्न सकिन्छ।  सर्पदंश खासगरी नेपालको तराईमा र पहाडी जिल्लाहरुको दुर्गम ठाउँहरुमा बढी देखिने गरेको पाइन्छ। तर तराईका जिल्लाहरुमा जस्तो मृत्युदर भने पहाडी जिल्लाहरुमा देखिदैन।यसको प्रमुख कारण भनेको सर्पमा हुने भिन्न भिन्नै प्रजाति हुनु हो।

पहाडी जिल्लाहरुमा देखिने सर्पहरु भन्दा तरार्इमा पाइने सर्पहरु  (जस्तै: कोब्रा, करेत ) बढी बिषालु हुन्छन्। पहाडी जिल्लाहरुमा पिट भाईपर जातका जसलाई स्थानीय भाषामा ( हर्रो वा छिरबिरे रंगको साप) भन्ने गरिन्छ बढी मात्रामा हुने गर्दछ। यसले मानिसको मृत्यु तुरुन्तै नगराउने भएता पनि उपचार ढिलो गरेमा बिभिन्न स्वस्थ समस्याहरु निम्त्याउन सक्दछ।

विषालु सर्पले टोकेको भनेर कसरी चिन्ने ? 

बिष बिहिन वा ड्राई बाईट : यसमा कि सर्प बिषालु हुदैन् वा बिष नै छोडेको नहुन् सक्दछ । जसलाई  (ड्राई बाईट) भन्ने गरिन्छ। तसर्थ स्वस्थकर्मीहरुले सबैभन्दा पहिले बिष बिहिन सर्प थियो वा ड्राई बाईट हो भनेर छुटाउन जरुरी हुन्छ।

तर यस्तो अवस्थामा पनि सर्पदंश पीडित ले बढी आत्तिएर बिभिन्न लक्षणहरु भने देखाउन सक्दछ। जस्तै:
१. बढी अत्तिदा हृदय घात हुन् सक्दछ।
२. छिटो छिटो सास फेर्ने गर्दछ।
३. टोकेको ठाँउमा घोचेको जस्तो अनुभब हुने।
४. हात खुट्टा कडा हुने वा बाँउडिने।
५. चक्कर लाग्ने ।
६. बेहोस हुने ।
७. झर्किने गर्दछ।

यस्ता लक्षण पनि हेर्नुपर्छ 
१. सुन्निने : यो बढी पहाडी जिल्ला मा पाइने हर्रो सर्प को टोकाई बाट बढी हुने गर्दछ।
२. दाँतको चिन्ह : खासगरी पिट भाईपर जातको सर्पमा देखिन्छ भने बिषालु सर्प ले टोकेमा दुई वा एउटा दाँत को चिन्ह देखिन्छ।
३.रक्तश्राप हुने
४. निलो हुने वा पनि फोका भन्ने
५. लिम्फ ग्रन्थि सुन्निने
६. संक्रमण वा नेक्रोसिस हुने

(यी माथिका प्राय पहाडी जिल्लाहरुमा सर्पले टोकेपछि बढी देखा पर्ने गरेको पाइन्छ।)

सर्पले टोकेपछि  स्नायु प्रणालीमा देखिने चिन्ह र लक्षणहरु :
१. स्वादमा भिन्नता
२.बान्ता हुनु
३. आँखाको परेला उठाउन गाह्रो हुनु
४. स्वरमा परिवर्तन आउनु
५.घाँटी भाचिने चिन्ह (ब्रोकेन नेक साइन)
६ . नाडी छिटो छिटो चल्नु
७. स्वास फेर्न मा समस्या देखिनु
(यी चिन्ह र लक्षणहरु विशेष गरेर कोब्रा, करेत जस्ता बिषालु सर्पका टोकाईका कारणले हुने गर्दछ)

प्राथमिक उपचार :
१.  बिरामीलाई सबै भन्दा पहिले शान्त पर्नु पर्दछ। सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदय घात बढी हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नु पर्दछ।
२. बिरामीलाई सजिलो हुने गरी भुइमा सुताउनु पर्दछ र शरीर मा कसिएको समान हरु र कसिएको लुगा फुकाली दिनु पर्दछ।
३. टोकेको ठाउँ वरीपरि प्रेसर ब्यान्डेज लगाउने।
४.टोकेको ठाउँ लाई सकेसम्म नचलोस भन्न को लागि काठ वा स्प्लिन्त को प्रयोग गर्ने किनभने टोकेको भाग बढी चलेमा सर्प को बिष मांसपेशिका छिटो सोसित भएर रगतमा मिसिन सक्छ।

(यी सबै कुराहरु गरिसकेपछि छिटो भन्दा छिटो नजिकैको सर्प दंश उपचार केन्द्र मा पुराउनु पर्दछ।)

के नगर्ने ?
१.टोकेको सर्प लाई मार्ने कोशिस नगर्ने । यसले गर्दा अरु व्यक्ति पनि घाइते हुन् सक्दछ।
२.टोकेको घाउलाई नचलाउने । यसबाट अरु इनफेक्सन हुने र बिष छिटो फैलिने सम्भावना हुन्छ।
३.रवर वा डोरीले कडा रुपमा नबाधने। यसले रक्तसंचार लाई अबरुद्ध पार्छ । यदि रबर तन्किएर ४० मिनेट भन्दा बढी बाधेमा कोषिका हरु मर्दै (नेक्रोसिस) जाने छ र धेरै ढिलो भए नेक्रोसिस भएको भाग नै काटेर फ्याक्नु पर्ने हुन् सक्दछ।
४. धामी झाक्री संग उपचार गराउछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएको जति सक्दो चाडो सर्प दंश उपचार केन्द्र मा लागने।
५. टोकेको ठाउमा कुनै चिजले नकाट्ने, नचुसने, कुनै मलम वा रासायनिक कुरा नदलने।

सर्प दंश समस्या  नेपालमा ठुलै भएपनि यस बारेमा धेरै स्वास्थ्यकर्मी र नीति निर्माताहरु को चासो दिएको पाइदैन। यो समस्यामा सामान्यत न्युनआय स्तरका व्यक्तिहरु नै प्रभावित हुने भएकोले पनि यो समस्या प्रति चासो नदिएको हुन सक्छ । यद्धपी यसले गर्ने बर्षेनी ठुलो मात्रामा गर्ने मानवीय क्षतिको पुरयाउने गरेको छ । तसर्थ सर्प दंश समस्यलाई पनि उच्च प्राथमिकता दिई नियमित रुपमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्दछ।

*डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *