सामुदायिक स्वास्थ्य एकाइ सेवा प्रभावकारी बन्दै


मुग्लिन, १७ साउन । चितवनको इच्छाकामना गाउँपालिका–७ का शान्ति तामाङ झण्डै दुई महीनादेखि टाउको दुख्ने समस्याबाट ग्रसित थिइन् । तर उनी अस्पताल गएकी थिइनन् । नजिकै स्वास्थ्य जाँच गरिन्छ भनेको थाहा पाएपछि साउन १५ गते उनी जँचाउन सामुदायिक स्वास्थ्य एकाइ स्याङदीमा पुगिन् । उनको शरीरमा रगतको मात्रा केही कमी भएको पाइयो । यो ठूलो समस्या नभएको र प्रशस्त पानी पिउन र खानपिनमा ध्यान दिन चिकित्सले सल्लाह दिए । उनलाई आवश्यक परामर्शपछि टाउको दुख्ने समस्या रहिरहे पुनः स्वास्थ्य संस्था आउन भन्दै निःशुल्क औषधि पनि दिएर पठाए ।

कान्छीमाया तामाङ पनि लामो समयदेखि छाती दुख्ने र पिसाब पोल्ने समस्या लिएर स्वास्थ्य एकाइमा आइपुगिन । स्वास्थ्य संस्था टाढा भएकाले जँचाउन नगएको उनले बताइन् । यहाँका स्थानीयवासी स्वास्थ्य संस्था नजिक नहुँदा प्रायः शुरुआती चरणमा स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थासम्म नपुग्ने सामुदायिक स्वास्थ्य एकाइ स्याङदीका अहेव सञ्जु सिम्खडा बताउछन् । उनका अनुसार गाउँमै स्वास्थ्य संस्था नभएको भए कान्छीमाया र शान्ति अझै यत्तिकै बस्थे ।

प्रायः जब रोग बढ्दै गएपछि मात्र अस्पताल जाने गर्छन् । आजभोलि भने गाउँमै सामुदायिक स्वास्थ्य एकाइ स्थापनापछि स्वास्थ्यमा सामान्य समस्या आउन बित्तिकै जँचाउन आउने गरेको अहेव सिम्खडाले बताए।

यहाँ असारदेखि सामुदायिक स्वास्थ्य एकाइबाट सेवा दिन शुरु भएपछि स्वास्थ्य जाँच गराउन आउनेको सङ्ख्यामा वृद्धि हँुदै गएको छ । सेवा शुरु गरेको असार महीनामा १९१ ले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । साउन १ गतेदेखि १५ गतेसम्ममा ११८ ले स्वास्थ्य जाँच तथा उपचार गराएको अहेव सिम्खडाले जानकारी दिए ।

यहाँ जनजाति सीमान्तकृत चेपाङ र दलित समुदायको बसोबास छ । जनचेतनाको अभावले पनि स्वास्थ्य संस्थासम्म उनीहरु जाँदैनन् । यहाँका स्थानीयवासी उपचारका लागि कालिका नगरपालिका तथा भरतपुर जान बाध्य छन् । समयमा सवारीसाधन नपाउँदा घण्टौँसम्म हिँडेर जानुपर्ने बाध्यता पनि छ । सामुदायिक स्वास्थ्य एकाइ स्थापनापछि यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज भएको छ । यसअघि सामान्य रुघाखोकी, ज्वरो आउँदा घाउचोट लाग्दासमेत घण्टौँसम्म हिँडेर कालिका नगरपालिका नै पुग्नुपर्ने बाध्यता रहेको थियो । यहाँ अहिले दुई स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् ।

बर्थिङ सेन्टर आवश्यक

यहाँ प्रायः घरमै सुत्केरी गराउने पाइएको छ । स्वास्थ्य संस्था टाढा हुनु र जनचेतनाकोे कमी हुनुले घरमै असुरक्षित सुत्केरी गराउने गरिएको अहेव सिम्खडाले बताए । सुत्केरी गराउनका लागि भरतपुर जानुपर्ने बाध्यता छ । वर्षायाममा खोला बढेपछि स्वास्थ्य संस्था जान सक्दैनन् । उनका अनुसार यहाँ जतिसक्दो चाँडै बर्थिङ सेन्टर स्थापना गर्न आवश्यक छ ।

यस सामुदायिक स्वास्थ्य एकाइमा वडा नं ७ को स्याङदी भालुमारा, गर्दास र पिलटारलगायतका बासिन्दाले सेवा लिइरहेका छन् । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनामा चार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको जानकारी दिइन् । अध्यक्ष गुरुङले सबै स्वास्थ्य एकाइलाई बर्थिङ सेन्टरको रुपमा विकास गरिने बताइन् । अहिले गाउँपालिकामा पाँच स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य एकाइ गरी नौ स्वास्थ्य एकाइ रहेको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना भौगोलिक विकटता रहेको स्थानीय तह हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *