‘फरक समूहको रगत चडाएको’ विषयमा छानवीन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौँ, १२ साउन ।  शहीद गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा मृत्यु भएकी पाँच बर्षीया बालिका आकृति साहको उपचारको विषयमा छानवीन गर्न गठित विज्ञ समितिले नेपाल मेडिकल काउन्सिललाई प्रतिवेदन बुझाएको छ ।

मुटुको भल्भ फेर्न गत १३ बैशाखमा भर्ना भएकी आकृतिको १७ बैशाखमा शल्यक्रिया भएको थियो र २३ बैशाखमा मृत्यु भएको थियो । उनका परिवारले शल्यक्रियाका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले गलत रगत चडाएर आकृतिको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।

बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वको विज्ञ टोलीले करीब अढाई महिना लगाएर तयार गरेको छानवीन प्रतिवेदन गत शुक्रबार काउन्सिललाई बुझाएको हो । काउन्सिलले आजै पूर्ण बैठक बसेर प्रतिवेदन कार्यान्वनयको सम्वन्धमा छलफल गरेको छ ।

‘रिपोर्ट आएको छ । रिपोर्टमा केही सम्वेदनशील कुराहरु पनि उल्लेख छ । यसलाई काउन्सिलल गम्भिरतापूर्वक लिएको छ । आवश्यकता अनुसार कारवाहीको लागि समेत मन्त्रालयलाई लेखि पठाउन सक्छ,’ काउन्सिलका एक जना सदस्यले भने ।

के छ रिपोर्टमा ?

काउन्सिल स्रोतका अनुसार रिपोर्टमा जिम्मेवारीका हिसावले अस्पताल निर्देशक, प्रशासन, व्लड बैक, रिपोर्ट बनाउने डाक्टर, शल्यक्रियामा सम्लग्न डाक्टर तथा प्यारामेडिक्सहरु सबैलाई फरक फरक नियम अनुसार सिफारिस भएको छ । यस्तै रिपोर्टमा बालिकामा फरक रगत चडेको र त्यसले असर गरेको पनि उल्लेख छ । तर बालिकाको मृत्यु भने गलत रगतका कारण नभएको उल्लेख छ ।

स्रोत भन्छ, ‘रगतका कारणले जे जे असर देखिने हो त्यो देखियो तर पछि निको भयो । बरु ज्यानै लाने गरी अरु समस्या देखा परयो । इन्फेक्सन भयो, मिर्गौला फेल भयो आदि आदि ।’

स्रोतका अनुसार गलत रगतले पिसावमा समस्या पार्ने थियो तर शल्यक्रिया पछि पनि बालिकाको पिसावमा राम्रो अवस्थामा आइसकेको थियो ।

सर्लाही सिसौटियाकी ५ बर्षीया आकृतिको रगत समूह ओ पोजेटिभ भएपनि शल्यक्रियाका बेला ए पोजेटिभ चडाइएको थियो ।

अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले त्यसबेला नै घटनाको विषयमा छानवीन गर्ने र प्रतिवेदन अनुसार अघि बढ्ने बताएका थिए । पछि घटनाको छानवीन काउन्सिलले गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *