समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु


बेत्रावती, १० साउन । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।

बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए ।

बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए ।

नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि यहाँबाट काठमाडौँ पठाएको थियो । बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए ।

“सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन् ।” उनले भने, “चिकित्सकको बेवास्ता र सुत्केरीकक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो ।”

चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउनुभएकी वस्तीको शव काठमाडौँबाट अन्तिम संस्कारका लागि बिहीबार राति नै नुवाकोट ल्याएर विरोधस्वरुप त्रिशूली अस्पतालमा राखिएको छ । सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु अस्पतालमा परिसर भेला भएर विरोध जनाइरहेएका छन् ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुत्केरीलाई जतिसक्दो चाँडो काठमाडौँ लैजानुपर्ने भए पनि नुवाकोट ‘सुगम’ जिल्लामा पर्ने भन्दै सरकारीस्तरबाट हेलिकप्टर उपलब्ध गराउन नमिल्ने जनाइएकाले निजीस्तरको हेलिकप्टरमार्फत अस्पताल पु¥याउन ढिलाइ भएको थियो । समयमै उपचार नपाएर सुत्केरीको मृत्यु भए पनि नवजात शिशुको काठमाडौँस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै आएको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *