स्वास्थ्यमन्त्री यादवद्धारा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र जनकपुर शाखाको उद्घाटन

380
Shares

जनकपुरधाम, ९ साउन । उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताएका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडौँ उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गरे ।

उनले प्रदेश नं २ मा हृदय, मिर्गौला, मधुमेहलगायतका नसर्ने बिरामी अन्य प्रदेशको दाँजोमा धेरै देखिएकाले खानपान र आचरण सुधारका लागि जनचेतना अभिवृद्धिको अभियान सञ्चालनको आवश्यकतामा जोड दिए । उपप्रधानमन्त्री यादवले प्रदेश नं २ का मुटुरोगीहरूको सङ्ख्यालाई दृष्टिगत गर्दै शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरधाममा स्थापना गरिएको उल्लेख गरे ।

‘‘हृदय केन्द्रलाई विस्तार गर्न जनकपुर अस्पतालले जग्गा उपलब्ध र प्रदेशले भवन निर्माणका बजेट विनियोजन गरिसकेकाले आगामी दिनमा यसबाट अत्याधुनिक उपचार सेवा उपलब्ध हुनेछ,’’, उपप्रधानमन्त्री यादवले भने ।

प्रदेश नं २ मा क्यान्सर रोगको उपचारका लागि अस्पताल निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको र अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले प्रारम्भमा भरतपुर क्यान्सरको सहयोगमा यस प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन हुने जानकारी दिए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अस्पताललाई प्रदेशको नमूना अस्पताल बनाउनु पर्ने खाँचो औँल्याए। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको जनकपुरधाममा शाखा स्थापनाले प्रदेशवासीले उपचारमा सहजता पाएको चर्चा गर्दै उनले शाखाबाट अन्तरङ्ग सेवा पनि सञ्चालन हुनु आवश्यक छ भने ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारद्वारा आगामी ७० दिनभित्र शाखामा क्याथ ल्याब स्थापना गरिने जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुर अस्पतालको स्तरोन्नति हुनुपर्ने धारणा राखे ।

जनकपुर अस्पतालका प्रमुख डा नागेन्द्रप्रसाद यादवले अस्पतालमा पूर्वाधार पर्याप्त भएकाले यसको सेवा विस्तारका लागि सरकारसँग रु १० करोडको व्यवस्थाका लागि माग गरे। प्रदेश नं २ का स्वास्थ्य निर्देशक डा प्रमोद यादवले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको शाखाबाट प्रदेशका ६० लाख जनसङ्ख्याले सहज रूपमा उपचार सेवा पाउने बताए ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जनकपुर शाखाबाट आगामी तीन वर्षभित्र आकस्मिक र अन्तरङ्ग सेवा पनि उपलब्ध हुने जानकारी दिए । शाखाका प्रमुख डा राकेश साहले शाखाले गत माघ महिनादेखि हालसम्ममा तीन हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको छ भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *