नरदेवी अस्पतालको सरसफाईमा जुटे कर्मचारी चिकित्सक
काठमाडौँ, ४ साउन । फोहरबाट ग्रसित भएको नरदेवी आयुर्वेद अस्पताललाई सफा र चिटिक्क पार्ने अभियान शुरु भएको छ । अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार (हिजो)बाट साप्ताहिक रुपमा अस्पताल सरसफाई गर्ने अभियान शुरु गरेका छन् ।
हिजो पहिलो दिन मात्रै कर्मचारी तथा चिकित्सकले ट्रक फोहर उठाएर पठाएको अस्पतालका सूचना अधिकारी रामचन्द्र पाण्डेले बताए । उनका अनुसार अस्पतालमा परिसरमा बर्षौ देखि थुप्रिएको फोहर अझै २ – ३ ट्रक छ । यो पनि साप्ताहिक रुपमा गरिने सरसफाईमा उठाइने उनले जानकारी दिए । फोहर उठाउनका लागि उनीहरुले नगरपालिकासंग ट्रक मगाएका थिए । वडा कार्यालयसंग समन्वय गरी सो व्यवस्था गरिएको सूचना अधिकारी पाण्डेले बताए ।
‘हामीले हरेक शुक्रबार ओपिडी समय पछि दिउसो २ देखि ३ बजेसम्म सरसफाई गर्ने तालिका बनाएका छौँ । थुप्रिएका सबै फोहर उठिसकेपछि छिमेकीहरुलाई जथाभावी फोहर नफालिदिन आग्रह गर्ने योजना बनाएका छौँ,’ पाण्डेले भने ।
अस्पतालकै फोहर बाहेक छिमेकीले समेत अस्पताल परिसरमै फोर फाल्ने गरेका कारण फोहरको समस्या व्यवस्थापनमा जटिलता उत्पन्न भएको अस्पतालको भनाई छ ।
अस्पतालका निर्देशक डा प्रदीप केसीले अस्पतालको सुधार फोहर व्यवस्थापनबाटै शुरु गर्न लागिएको भन्दै विस्तारै अरु प्रणालीहरुको समेत सुधार गर्दै जाने बताए । ‘अस्पताल भन्ने तर त्यहाँ फोहरको डुंगुर छ भने त्यस्तो ठाँउमा कसरी राम्रो उपचार होला ? त्यसैले हामीले सरसफाई अभियानबाट यो सेवा शुरु गरेका हौँ,’ डा केसीले भने । उनले अस्पतालको सरसफाई पछि प्रणालीगत रुपमा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिवद्धता जनाए ।
एघारौँ तहका डा केसी समायोजन पछि पदस्थापन भएर नरदेवी अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
सम्पर्क इमेल : [email protected]