लगातारको बर्षा पछि जनकपुर अञ्चल अस्पताल डुवानमा

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेर अस्पतालसहित नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्।
लगातारको बर्षाले जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ ।
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।
विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ।
धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानीको सतह बढ्दै गएपछि सर्वसाधारणलाई सचेत गराइएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाका रुपमा रहेको कमला नदीमा अविरल वर्षाका कारण जलस्तर बढ्दै गएकाले कमला छेउछाउका सर्वसाधारणहरुलाई सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ ।
सम्पर्क इमेल : [email protected]