मेडिकल रेकर्डर सहित विभिन्न उपसमूहका ४०० बढीको समायोजन
काठमाडौँ, २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थोरै संख्यामा कर्मचारी रहेका उपसमूहको समायोजन गरेको छ ।
मन्त्रालयले शुक्रबार मेडिकल रेकर्डर, डार्क रुम असिस्टेन्ट, कोल्ड चेन अधिकृत, खोप सुपरभाइजर लगायत थोरै संख्यामा कर्मचारी रहेका सबै तहका उपसमूहका करीब ४०० कर्मचारीको समायोजन गरेको बताएको छ ।
मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले विवादमा नपरेका, थोरै संख्या रहेका उपसमूहका करीब ४०० जनाको समायोजन शुक्रबार (हिजो) भएको बताए । उनले ती उपसमूहका कर्मचारीहरुको पत्र सम्वन्धित कार्यलयमा पठाउने तयारी शुरु भईसकेको बताए ।
समायोजन भएपनि मन्त्रालयले भने अहिलेसम्म सूची सार्वजनिक गरेको छैन ।
उपसचिव न्यौपानेले भने सूची राख्नुपर्ने भन्दै नराख्नुको कारण भने आफूलाई थाह नभएको बताए । ‘सूची त हिजो नै राख्न भनिएको हो । अहिलेसम्म किन राखिएन त्यो त मलाई थाह भएन,’ उनले भने ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com