डा. प्रदीप बने अक्युपञ्चर उपचार विधिमा विद्यावारिधि गर्ने पहिलो नेपाली

3.4k
Shares
डा. प्रदीप केसी

काठमाडौँ, १६ असार । आयुर्वेदका डा. प्रदीप केसीले अक्युपञ्चर उपचार विधिका सम्वन्धमा विद्यावारिधि (पीएचडी) गरेका छन् । चीनस्थित थियान्चिन युर्निभसिटी अफ ट्रेडिशनल चाईनिज मेडिसिन थियान्चिनबाट उनले यसैसाता विद्यावारिधिको प्रमाणपत्र हात पारेका हुन् ।

उनको विद्यावारिधि “नेपालमा मस्तिष्कघातको तिव्रावस्थाका विरामीहरुको खुट्टाका मांशपेशीको बल, चाल र कार्यलाई पुर्नस्थापना गर्नका लागि मस्तिष्कलाई पुनर्जीवित पार्ने अक्युपञ्चर उपचार विधिको प्रभाव सम्बन्धि चिकित्सिकीय अध्ययन र अनुसन्धान” शीर्षकमा छ । र, उनी अक्युपञ्चर उपचार विधिमा विद्यावारिधि गर्ने पहिलो नेपाली डाक्टर बनेका छन् ।

डा. केसीले सो विषयको अनुसन्धान नेपालमै गरेका थिए । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा अढाई बर्ष लगाएको गरिएको उक्त अध्ययनको प्रारम्भिक प्रतिवेदनले सो अक्युपञ्चर उपचार विधिले मस्तिकघातको तिव्रावस्थाका विरामीहरुको खुट्टाका मांशपेशीहरुको बल, चाल र कार्यलाई पुर्नस्थापना गर्न अत्यन्तै सकारात्मक भुमिका खेल्ने देखाएको छ ।

डा. केसीका अनुसार अनुसन्धान १८ बर्ष भन्दा माथि र ८० वर्ष भन्दा मुनिका विरामीहरुमाथि गरिएको थियो ।  यस्तै अन्नपूर्ण न्युरो अस्पतालको आइसियूमा भर्ना भएका, रक्तवरोध वा रक्ताश्रावका कारण उत्पन्न भएको मस्तिष्कघातको तिब्रवस्था अर्थात एक हप्ता भित्रका ५० जना विरामीलाई ईन्टरभेन्सन र कन्ट्रोल गरी दुई समुहमा विभाजित गरिएको थियो ।

उक्त अनुसन्धानमा ईन्टरभेन्सन समुहका विरामीहरुलाई चीनका प्रख्यात अनुसन्धाता र शिक्षाविद प्राध्यापक डा. श्र स्युएमिनले लामो समय लगाएर अनुसन्धान गरी स्थापना गरेको मस्तिष्कलाई पुनर्जीवित पार्ने अक्युपञ्चर उपचार विधिलाई विरामीको खुट्टाका मांशपेशीहरुको बल, चाल र कार्यलाई पुर्नस्थापना गर्नको लागि प्रयोग गरिएको थियो ।

डा. केसीले अक्युपञ्चर विश्वव्यापी प्रचलनमा आएको परम्परागत चिकित्सा विधि भएको र नेपालका शहरी क्षेत्रमा समेत मस्तिष्कघात पछि पक्षघात भएकाहरुको उपचारमा प्रयोग हुनेक्रम बढेकाले यसलाई आफ्नो अनुसन्धानको विषय बनाएको बताए ।

‘अहिले विश्व स्वास्थ्य संगठनले पनि यस चिकित्सा विधिलाई विभिन्न रोग र रोगावस्थाहरुको उपचारमा मान्यता प्रदान गरेको अवस्था छ । मस्तिष्कघातको कारणले विरामीहरुलाई शारीरिक रुपमा अशक्त र विकलाङ्ग बनाउने क्रम नेपालमा पनि बढ्दो छ र यो अवस्था उत्पन्न भैसकेपछि नेपालमा विशेष गरी आधुनिक चिकित्सा, पुर्नस्थापना चिकित्सा र परम्परागत चिकित्साद्वारा उपचार गर्ने गरिन्छ । तसर्थ यस विषयको अनुसन्धान नेपालमा गर्नु जरुरी थियो र मैले सम्पन्न गरेँ,’ उनले भने ।

उनको अनुसन्धानलाई प्राध्यापक डा. श्र स्युएमिन (चीन) र प्राध्यापक डा. वसन्त पन्त (नेपाल)ले सुपरीवेक्षण गरेका थिए ।

नेपाल सरकारको छात्रबृत्तिमा विद्यावारिधी गर्न सफल डा. केसीलाई स्वास्थ्य मन्त्रालयले समायोजन पछि नरदेवी अस्पतालको निर्देशक बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *