स्वास्थ्यको समायोजन : एघारौँ तहको सूची प्रकाशित गर्ने तयारीमा मन्त्रालय

काठमाडौँ, १२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहको एघारौँ तहका कर्मचारीको सूची सार्वजनिक गरी समायोजनको प्रक्रिया थाल्ने भएको छ । यसअघि भने मन्त्रालयले दिन नै तोकेर मेडिकल बोर्डको सिफारिस परेका २७ जनाको सूची प्रकाशित गर्ने भनेको थियो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले हिजो मुख्य सचिव लोकदर्शन रेग्मी, सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्यमा बोलाई कडा निर्देशन दिएपछि फेरी सहसचिवको सूची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय लागेको हो ।

‘समायोजन भैसक्यो भन्ने तर सूची सार्वजनिक नहुने क्रम चलिरहेको छ । तर हिजो उपप्रधानमन्त्रीको निर्देशन पछि मुख्य सचिव रेग्मीले तत्काल नै स्वास्थ्यका सहसचिवहरुको सूचीमा हस्ताक्षर गरिसक्नु भएको बुझिएको छ । आज विहानै हामीकहाँ लिष्ट आउने र प्रकाशित गर्ने हाम्रो तयारी थियो । तर के कारणले हो अहिलेसम्म आएको छैन । हामी तै पनि प्रयासरत छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने । उनले मुख्य सचिवबाट सामान्य मन्त्रालयमा सूची आइपुगेको हुनसक्ने बताए ।

स्वास्थ्यमा एघारौँ तहका १५६ जना कर्मचारी छन् ।

यसअघि स्वास्थ्य सचिव रामप्रसाद थपलियाले मेडिकल बोर्डको सिफारिसमा परेका २७ जनालाई पुल दरबन्दीमा राख्ने निर्णय भइसकेको बताएका थिए । तर त्यसमा कतिपय स्वस्थ व्यक्ति नै पनि परेको जानकारी पाएपछि फेरी थप छानवीनका लागि भन्दै रोकिएको स्रोतले जानकारी दियो ।

प्रवक्ता श्रेष्ठले भने समायोजनको सूची क्रमश प्रकाशित हुँदै जाने बताए । ‘अहिलेसम्म स्टाफ नर्स, फार्मेसी,मलेरिया इन्सपेक्टर लगायतका समूहको काम सकिसकेको छ । अब छिटै यो समूहका सुची प्रकाशित हुनेछ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *