कलेजो प्रत्यारोपण : पहिलो केस सफल भएसंगै दोस्रो प्रत्यारोपणको तयारीमा टिचिङ अस्पताल

काठमाडौँ, ७ असार । पहिलो केसमा सफलता पाएसंगै त्रिवि शिक्षण अस्पतालको टोली दोस्रो कलेजो प्रत्यारोपणको तयारीमा जुटेको छ । टोलीले आगामी साता भित्र दोस्रो प्रत्यारोपण गर्ने बारेमा निर्णय लिने बताएको छ ।

टोली प्रमुख डा रमेशसिंह भण्डारीले प्रत्यारोपण गर्नुपर्ने विरामीहरु सम्पर्कमा आएको र प्रारम्भिक परीक्षणका क्रम समेत शुरु भईसकेको भन्दै दोस्रो प्रत्यारोपण कसको हुने भन्ने एक साता भित्र थाह हुने बताए ।

गत जेठ १७ गते त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । प्रत्यारोपणका लागि लिभर सिरोसिसले थलिएका ५८ बर्षका बाबुलाई उनकै ३३ बर्षीया छोरीले कलेजो दान गरेकी थिइन । तीन साता लामो अस्पतालको उपचार पछि शुक्रबार डिस्चार्ज भएका छन् ।

भण्डारीले शुक्रबार बाबु छोरीको तस्बिर फेसबुकमा राख्दै पहिलो केश डिस्चार्ज भएको बताएका थिए ।

डा भण्डारीले पहिलो प्रत्यारोपणका लागि आएका पहिलो परिवारको शुरु देखि अहिलेसम्मको उपचारमा करीब २५ २६ लाख खर्च लागेको हुनसक्ने बताए । उनले पहिलो केस भएपनि विरामी पक्षले आफ्नै खर्चमा उपचार गराएको समेत स्पष्ट पारे । ‘हामीले केही सव्सीटी दिने भन्ने योजना त बनाएका हौँ तर त्यो मिलिरहेको छैन । त्यसेले अहिले उहाहरु (विरामी) कै खर्च भएको छ,’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालमा पहिलो केस प्रत्यारोपण गर्न भारतको एपोलो अस्पतालबाट डा निरभ गोयलको नेतृत्वमा टोली नेपाल आएको थियो। उनीहरुकै सहयोगमा टिचिङमा पहिलो शल्यक्रिया सफल भएको हो । सो शल्यक्रियामा नेपालका तर्फबाट डा भण्डारीसहित डा पलेस्वाँ लाखे जोशी, डा सुमित प्रधान, डा विष्णु कँडेल, डा सुजन श्रेष्ठ र डा नरेन्द्र महर्जन थिए।

उनलाई आइसियुका प्रमुख डा सुवास आचार्यको टोलीले उपचार गरेको थियो। उक्त टोलीमा डा प्रमेश सुन्दर श्रेष्ठ, डा हेमराज पनेरु, डा सौरभ प्रधान, डा अनिल श्रेष्ठ, डा अमित भट्टराई, डा पंकज जोशी, डा रविन हमाल, डा राहुल पाठक, डा शर्मा पौडेल, डा दिनेश चटौत र डा अजित थापा थिए। नर्सिङतर्फ किवता सिटौला, मिना पुन, बिमला श्रेष्ठसहित ८ जना नर्स खटिएका थिए।

प्रत्यारोपणका लागि यी टोली लगातार १६ घण्टासम्म खटिएको थियो ।  अस्पतालले ५ वर्षको प्रयासपछि प्रत्यारोपण सेवा सुरु गरेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *