समायोजन स्वास्थ्यबाट टुंगिन अझै महिनौँ लाग्न सक्ने

काठमाडौँ, ६ असार । स्वास्थ्य समूहका कर्मचारीको समायोजन लम्बिने भएको छ । मन्त्रालयले आज सूचना जारी गर्दैै स्वास्यका कर्मचारीहरुलाई यथास्थानमा पूर्ववत रुपमा काम गर्न निर्देशन दिएको छ । उसले करीब ७ हजार बढी गुनासा सम्वोधन भएको सुची प्राप्त भएपनि त्यसको अध्यावधिक गर्ने काम बाँकी रहेको भन्दै केही समय लाग्ने बताएको हो ।

मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँद्धारा जारी विज्ञप्तीमा समायोजन पछि पदस्थापनको पत्र नपाउन्जेलसम्म सबै कर्मचारीलाई यथास्थानमा रहेर काम गर्न भनिएको छ ।

यसअघि आजै औषधि व्यवस्था विभागले गरेको कार्यक्रम स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वास्थ्यको समायोजनको विषयलाई सामान्य प्रसाशन मन्त्रालयले सुल्झाउनुको सट्टा बल्झाएर पठाएकोले समस्या भएको बताए ।

‘स्वास्थ्यका कर्मचारीहरुको एउटा पनि समस्या नहोस् । सून्यमा होस भनेका थियौँ । झन् नकारात्मक पो भएर आईदियो । सुल्झियोहोला भनेको झन् समस्या थपिएर पो आइदियो । त्यसैले समायोजन तत्कालै हुँदैन । जो जहाँ छ त्यहिबाट सेवा दिनुहोला ‘ राज्यमन्त्री डा यादवले भने ।

उनले स्वास्थ्यको समायोजनको जिम्मा सामान्यलाई दिनु नै गल्ती भएको आरोप लगाए । ‘चामल जोख्ने र सुन जोख्ने काम फरक विधा हो । जोख्ने त जोख्ने नै हो तर फरक हो । कर्मचारी समायोजनमा पनि त्यस्तै भएको हो । चामल जोखेजस्तो सजिलो गरी जोख्न खोजेको सामान्यलाई स्वास्थ्यको समस्या सुन जोख्दा जस्तै जटिल भैदियो,’ राज्यमन्त्री डा यादवले भने ।

कार्यक्रममा स्वास्थ्य सचिव रामप्रसाद थपलियाले समायोजनको काममा मन्त्रालय लागिरहेको भन्दै सम्पन्न भएपछि कर्मचारीलाई समायोजनको पत्र कार्यरत संस्थामै पुग्ने बताए । उनले समायोजनको पत्रपछि मात्रै पदस्थापन र रमानाको पत्र जाने हुनाले केही समय अझै लाग्ने बताए ।

उनले कम विवाद भएको संख्याबाट पत्र वितरण गर्ने जानकारी दिए । ‘मेडिकल बोर्डको सिफारिस अनुसार विरामी भएका २७ जना कर्मचारी पुल दरबन्दीमा रहने देखिएको छ । पहिले उहाँहरुको पत्र जान्छ । त्यसपछि अरुको जाला,’ सचिव थपलियाले भने ।

सचिव भन्छन् ‘एघारौँ तहको समायोजन भैसक्यो,’

राज्यमन्त्री भन्छन् ‘भएको छैन’ 

समायोजनकै प्रशंगमा सचिव थपलियाले एघारौँ तहका सहसचिवहरुको समायोजन भईसकेको बताए । उनले सार्वजनिक गर्न मात्रै केही ढिलाई भएको दावी गरे । ‘एघारौँ तहका कर्मचारीको समायोजन अस्तिनै भइसकेको हो । तर सार्वजनिक गर्न ढिलाई भइरहेको छ । अब आशा गरौँ यो छिटै सार्वजनिक हुनेछ ।,’

तर, सोही कार्यक्रममा प्रमुख अतिथि बनेको राज्यमन्त्री यादवले सहसचिवको निर्णय मन्त्रिपरिषदबाट भइनसकेको बताए । ‘एघारौँ तहको सहसचिवको समायोजन सूची निर्णयका लागि मन्त्रिपरिषदमा गएको छ तर निर्णय भएको छैन,’ उनले भने । उनले अब आउने बैठकमा त्यसको निर्णय हुनसक्ने पनि बताए ।

तर सहसचिवको समायोजनको विषयमा अघिल्लो महिना नै उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निर्णय भइसकेको बताएका थिए ।

सातौँ आठौँ नवौँ दशौँ तहको समायोजन आज हुनसक्ने
यसैबीच सचिव थपलियाले पुल दरबन्दीमा बस्ने सहित सातौँ आठौँ नवौँ र दशौँ तहका चिकित्सकहरुको समायोजन आउदो मन्त्री परिषद बैठकले निर्णय गर्न सक्ने बताए । ‘हामीले विवरण पठाएका छौँ । सामान्यले पनि क्याविनेटमा पठाइसकेको छ । मैले आजै पनि मन्त्रिपरिषदको बैठक बस्छ भन्ने सुनेको छु । आज बस्यो भने आजै हुनेसम्भावना छ,’ उनले भने ।

कर्मचारी नै १० हजार कम छ कहाँबाट आयो यो फाजिल ?
समायोजनको विषयमा बोल्दै राज्यमन्त्री डा यादवले नेपालमा पुरानै ओएनएम अनुसार स्वास्थ्यका करीब १० हजार कर्मचारी भर्ना गर्न नै बाँकी रहेको भन्दै फाजिलमा रहने भन्ने प्रश्नै नआउने ठोकुवा गरे ।

उनले भने, ‘पुरानै अनुसार नै करीव १० हजार कर्मचारी कम नियुक्त छन् । यो अवस्थामा यति सय उति सय फाजिलमा रहन्छन भनेर कसले हिसाव निकाल्यो ? जब कर्मचारी नै पहिल्यै कम छन भने भएका कर्मचारीलाई मिलाउनु पर्दैन ? कसरी फाजिलमा राखेको ?,’ उनले प्रतिप्रश्न गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *