सुरेश वाग्ले क्यान्सर केन्द्र निर्माणमा किन ढिलाई ? विद्यार्थीले गरे संसदीय समितिको ध्यानाकर्षण

काठमाडौँ, ३ असार । महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले निर्माण कार्यमा ढिलाई भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको बारेमा संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

बनाउने निर्णय भएको एक दशक वितिसक्दा समेत निर्माण सम्पन्न नभएपछि विद्यार्थीहरुले मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीलाई भेटी ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण गराउन महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सदस्य डा घनश्याम पाण्डे, युवा चिकित्सक संघका अध्यक्ष डा चेतन बस्नेत र नेपाल जनस्वास्थ्य संघका सदस्य कमल रानाभाट सहितको टोली सिंहदरबार पुगेको थियो ।

‘यो त अत्ति भयो, पटक पटक म्याद थप भएको छ । निर्माण सम्पन्न हुने टुंगो छैन । अब यहि महिनाको दोस्रो साता निर्माण सम्पन्न हुने गरी पछिल्लो पटक म्याद थप गरिएको थियो तर सम्पन्न हुने छाँटकाँट छैन । त्यसपछि फेरी अलपत्र पर्नेवाला छ । त्यसैले हामीले संसदीय समितिको ध्यानाकर्षण गराएका हौँ,’ टोली सदस्य रानाभाटले भने ।

हुनपनि पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री र डा बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला २०६५ /०६६ सालमा त्रिवि परिसरमा सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र बनाउने निर्णय भएको थियो । तर प्रक्रियागत ढिलाईले सिलान्यास भने झण्ढै अढाई बर्षपछि अर्थात २०६८ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए ।

‘त्यसबेला निर्माणको जिम्मा लिएको गौरा एट्लस जेभीले २०७१ मंसिर २५ भित्र निर्माण सम्पन्न गरी हस्तान्तर गर्ने सम्झौँत ागरेको थियो । तर काम नसकेपछि एक बर्ष म्याद थप भयो । त्यसबीचमा भूकम्प गएपछि पुन एक निर्माण रोकिएको थियो । त्यसपछि पुन एक बर्ष म्याद थपियो । अहिले पछिल्लो पटक २०७६ असारको १५ सम्म निर्माण सक्ने भनेको हो तर काम रोकिएको अवस्था छ । यसैको ध्यानाकर्षण गराएका हौँ,’ विद्यार्थी रानाभाटले भने ।

आठ तल्ले सो भवनमा १२० वेडको क्यान्सर केन्द्र बनाउन ठेकेदार कम्पनीसंग ५५ करोड ५१ लाख २८ हजार ४५० मा सम्झौँता भएको थियो । तर आर्थिक बर्ष २०७५ /०७६ सम्म सरकारले त्यसका लागि लगभग ७१ करोड निकासा गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *