उपचारसंगै दक्ष जनशक्ति तयार गर्ने योजनामा बाथरोग सेन्टर

156
Shares
फाइल फोटो

काठमाडौँ, ३० जेठ ।  उपचारात्मक सेवामा बेग्लै पहिचान बनाएको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले बाथरोग नियन्त्रणका लागि शैक्षिक तथा तालिमका कार्यक्रम अघि सार्ने योजना बनाएको छ ।

सेन्टरले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)संग समन्वय गरी छोटो अवधीको शैक्षिक तथा तालिम कार्यक्रम अघि सार्ने योजना बनाएको हो । त्यसका लागि पाठ्यक्रमको प्रारुप समेत तयार भइसकेको बताइएको छ ।

नेशनल बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बाथरोग सम्वन्धी उपचारका लागि छोटो अवधीको शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालन गर्ने योजना रहेको र त्यसको पाठ्यक्रम प्रारुप शिक्षा मन्त्रालयमा समेत पठाइसकेको बताए ।

‘नेपालमा बाथरोगको अवस्था भयावह छ । समयमै पहिचान भए सहज रुपमा निको हुने यो रोगको पहुँचमा अहिलेसम्म करीब ३ प्रतिशत मात्रै छन् । ग्रामिण तथा दुर्गम क्षेत्रमा बाथरोगको उपचार गर्ने मध्यमखाले जनशक्ति समेत छैन । कम्तिमा यस्ता खाले जनशक्ति भए समयमै पहिचान हुन्थ्यो र उपचार गर्ने ठाँउसम्म मानिसहरु जाने गर्दथे । हामीले त्यसैलाई मध्यनजर गरी छोटो अवधीको कोर्ष तथा तालिम सञ्चालन गर्ने योजना अघि सारेका हौँ ,’ उनले भने ।

सेन्टरले सीटीईभीटीसंग मिलेर बाथरोग सम्वन्धी १५ महिने तालिम सुरु गर्न खोजेको, यस्तै अहेव, एचए तथा मेडिकल अफिसरहरुका लागि डिप्लोमा इन रुमाटोलोजीको कोर्ष तयार गरी सञ्चालनमा ल्याउन खोजेको छ । ‘हामीले यसका लागि अहिले प्रक्रियागत कार्यमा लागि रहेका छौँ । यो कोर्ष स्वीकृत हुनासाथ तालिम तथा अध्ययनका कार्यक्रम शुरु हुनेछ,’ कक्षपतिले भने ।

उनले बाथरोग सेन्टरमा तालिम लिएको मान्छेले स्थानीय तहमा गएर सेवा गर्न खोजे प्राइमरी क्लिनिक खोल्न खोजे त्यसका लागि सहयोग समेत गर्ने योजना अघि सार्न लागेको बताए ।

नेपालमा बाथरोगका बिरामी करीब ३० लाख भएको अनुमान छ ।

विसं २०६९ सालमा रातोपुलमा स्थापना भएको सो सेन्टरले अहिले भक्तपुरको टोखापुखु, ललितपुरको जाउलाखेल, पोखरा र झापामा समेत आफ्नो शाखा बिस्तार गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *