एमडीजीपी चलाउन मिल्छ ? काउन्सिलको विज्ञ टोली निरीक्षणका लागि जुम्ला पुग्यो

काठमाडौँ, २० जेठ । नेपाल मेडिकल काउन्सिलले एमडीजीपी (एमडी इन जनरल प्राक्टिस) कक्षा चलाउन कस्सिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्थलगत निरीक्षण (इन्सपेक्सन) गर्न विज्ञ टोली खटाएको छ ।

आइतबार बसेको काउन्सिलको बैठकले निरीक्षणका लागि तीन सदस्यीय टोली जुम्ला पठाउने निर्णय गरेको थियो । निर्णय भएको चौविस घण्टा नवित्दै निरीक्षण टोली आजै जुम्ला पुगिसकेको छ ।

काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समय देखि एमडीजीपी कार्यक्रम चलाउने चासो देखाएको र सिटका लागि नै आग्रह गरिसकेपछि निरीक्षणका लागि विज्ञ टोली जुम्ला खटाएको बताए ।

उनले सो टोलीले दिने रिपोर्टको आधारमा एमडीजीपीका लागि स्वीकृति दिने वा नदिने वा दिने भए कति सिट दिने भन्ने निर्णय हुने जानकारी दिए । ‘हामीले हिजो निर्णय गरेका हौँ आज टोली जुम्ला पुगिसकेको छ । उसले त्यहाँ विरामी देखि पढाउनका लागि चाहिने दक्ष जनशक्तिसम्मको विवरण हेर्छ । ठिक छ भन्ने लागेमा थप प्रक्रिया अघि बढ्छ । कक्षा सञ्चालन गर्न दिन सकिदैन भन्ने लागेमा प्रकृया यहिबाट टुंगिन्छ,’ डा शर्माले भने ।

उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार  विश्वराज काफ्लेले काउन्सिलको पछिल्लो निर्णयले जुम्लामा एमडीजीपी कक्षा सञ्चालन गर्ने योजना एक कदम अघि बढेको बताए । ‘काउन्सिलको टोली निरीक्षणका लागि जुम्ला जानु सुखद शुरुवात हो । आशा गरौँ टोलीले सिटका लागि सिफारिस गर्नेछ,’ काफ्लेले भने ।

उनले प्रतिष्ठानमा एमडीजीपीका लागि पूर्वाधार समेत तयारी भइरहेको जानकारी दिए ।

जुम्लास्थित प्रतिष्ठानमा अहिले उच्च शिक्षा तर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ब्याचलर मिडवाफ्री, ब्याचलर पब्लिक हेल्थ पढाई भइरहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *