नेपाल स्वास्थ्यकर्मी संघको प्रदेश नं ३ को अध्यक्षमा भट्टराई

काठमाडौँ, १९ जेठ ।  नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश नं ३ को प्रथम अधिवेशनले कमल भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार राजधानीमा सम्पन्न अधिवेशनबाट सरिता गौतम, पुरुषोत्तम राजभण्डारी( सरकारी), विकास खनिया, भवनाथ पुडासैनी, मुना गुरुङ (समावेशी) र जोत्सना शाक्य (महिला स्वास्थ्य स्वयंसेविका) उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनबाट सचिवमा राधाकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा प्रसाद पौडेल, सहसचिवमा शिवप्रसाद पौडेल, कमल ब राना र भोज ढकाल( युवा) निर्वाचित भएका छन् ।

सदस्यहरुमा छन्दीरा धिताल र अणप्रसाद न्यौपाने निर्वाचित भएका छन् । कुल २३ सदस्यीय कार्यसमितिमा बाँकी ९ जना सदस्यहरु चयन गर्न बाँकी नै छ । अधिवेशनमा हिजो उम्मेद्धारी नपरेकोेले बाँकी सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्ने बताइएको छ ।

अधिवेशन प्रति नै भक्तपुरको आपत्ति, नव निर्वाचित अध्यक्षलाई अवैध करार
यसैबीच नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुरले प्रदेश नं ३ को भनिएको शनिबारको अधिवेशनलाई एउटा समूहको भेलाको करार दिदै आफ्नो समर्थन नभएको जनाएको छ । उसले अध्यक्ष पदमा निर्वाचित भट्टराईकै बैधतामा समेत प्रश्न उठाएको छ ।

हेपोन भक्तपुरका अध्यक्ष राजकुमार थापाले अहिले अध्यक्षमा निर्वाचित भएका भनिएका व्यक्ति अधिवेशन प्रतिनिधि नै नभएको आरोप लगाए । ‘जो अध्यक्षमा निर्वाचित भएको भनिएको व्यक्ति हो, उहाँ भक्तपुरमै कार्यरत हुनुहुन्छ । र जिल्लाको अध्यक्ष म हुँ । अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि तोकिनुपर्छ । हामीले प्रतिनिधि तोकेका पनि छैनौँ । उहाँ कसरी अध्यक्ष बन्नुभयो ? यो त विधान विपरित हो,’ उनले भने ।

थापाले केन्द्रीय अध्यक्ष रामजी घिमिरेको समूहले गलत ढंगबाट अधिवेशनको नाटक गरेको आरोप लगाए । ‘हिजो गरिएको भनिएको अधिवेशनमा ३ ४ वटा जिल्लाबाट प्रतिनिधि नै आएका छैनन् । कुन जिल्लाबाट को प्रतिनिधि भन्ने पनि सूचि सार्वजनिक गरिएन, दावी विरोध गर्ने व्यवस्था पनि गरिएन । कसरी त्यो अधिवेशन सफल भयो ? मैले यस विषयमा ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुस्कर आचार्य लाई समेत जानकारी गराएको छु,’ उनले भने ।

यता हेपोनका विष्णु लामिछानेले भक्तपुरका अध्यक्षले लगाएको आरोपको खण्डन गरे । ‘हाम्रो विधानमा २५ सदस्य भन्दा बढी भएको प्रतिष्ठानले आफ्नै ढंगले प्रतिनिधि पठाउन पाउने व्यवस्था छ भन्ने कुरा भक्तपुरका अध्यक्षलाई जानकारी नभएको जस्तो देखियो,’ उनले भने ।

शनिबारको अधिवेशनको उदघाटन गर्न छायाँ सरकारका स्वास्थ्य मन्त्री पार्वता डिसी चौधरी आएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *