सोलुखुम्बुमा जोखिमअवस्थामा रहेकी गर्भवतीको सेनाको हेलिकप्टरबाट उद्धार

164
Shares

सोलुखुम्बु, १५ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की एक गर्भवतीको उद्धार गरेर काठमाडौँ लगिएको छ । गाउँपालिका–३ छेस्कामकी २२ वर्षीया देवीकला राईलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।

पाँच महीनाकी गर्भवती राईलाई कडा रक्तअल्पताका कारण उपचारमा समस्या भएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डा मिङ्मार छिरिङ शेर्पाले जानकारी दिए । डा. शेर्पाका अनुसार तीन पाउण्ड रगत दिएपछि त्यसको रियाक्सन (प्रतिक्रिया) शुरु भएपछि जीवन बचाउन काठमाडौँ सिफारिस गरिएको हो ।

पारिवारिक अवस्था अत्यन्त नाजुक भएकाले थप समस्या भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । गाउँपालिका र अस्पतालको अनुरोधमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको पहलपश्चात नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौँ लगिएको छ ।

‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उद्धार गरिएको हो । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उक्त कार्यविधिमा लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा, शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ ।

हवाई उद्धारकार्यको समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्वमा गठित आठ सदस्य समितिले काम गर्छ ।

स्थानीय तहमा हवाई उद्धारकार्यका लागि समन्वय गर्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्षको संयोजकत्वमा समिति बनाउने उल्लेख गरिएको छ ।

नि:शुल्क सेवा दिने अस्पताल

नेपाल सरकारले उद्धार गरेर ल्याइएका गर्भवती तथा सुत्केरीलाई विभिन्न अस्पतालमा गएर उपचार गराउँदा शुल्क नलाग्ने जनाएको छ ।

प्रदेश नं १ को मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पताल तोकिएको छ भने प्रदेश नं २ को सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल, जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल पर्सा वीरगञ्जलाई तोकिएको छ ।

त्यस्तै प्रदेश नं ३ का लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चितवनको भरतपुरस्थित भरतपुर अस्पताल, गण्डकी प्रदेशका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निःशुल्क उपचार पाउने बताइएको छ ।

कर्णाली प्रदेशका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशका लागि सेती अञ्चल अस्पताल धनगढी तोकिएको छ । यी अस्पतालमा उद्धार गरेर ल्याएका गर्भवर्ती तथा सुत्केरीलाई नि।शुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

हेलिकप्टरबाट अवतरण भएको स्थानबाट अस्पतालसम्म ल्याउनका लागि सोही अस्पतालको एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, सोही कार्यविधिको दफा ५ को ‘घ’मा उद्धार गरिएकी महिलाको गर्भवती तथा सुत्केरी महिला एवं नवजात शिशु उपचारमा लागेको अन्य उपचार खर्च रकम यस कार्यक्रमअन्तर्गत उपलब्ध नहुने उल्लेख छ ।

 दुर्गमका हिमाली र पहाडी ३४ जिल्ला कुन कुन हुन् ?

कार्यविधिमा उल्लेख भएअनुसार हवाई उद्धार कार्यक्रम सञ्चालन हुने दुर्गम हिमाली तथा पहाडी जिल्लामा सोलुखुम्बु, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, दोलखा रहेका छन् ।

यस्तै दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सिन्धुपाल्चोक, गोरखा, बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रसुवा र धादिङ जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुनेछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *