नर्सिङ काउन्सिल रिक्त किन नयाँ कार्यसमिति ? न चुनावबाट आए, न नियुक्ती पाए !

काठमाडौँ, ३१ बैशाख । पन्ध्र सदस्यीय नेपाल नर्सिङ काउन्सिलको कार्यसमिति अहिले पदाधिकारी सहित आठ जनामा खुम्चिएको छ । कार्यसमिति बैठकमा एक जना मात्रै सदस्य अनुपस्थिति भए कोरम नपुगेर बैठक स्थिगित हुने अवस्थामा पुग्दछ, निर्णय गर्ने विषय त परको कुरा ।

किन यस्तो भइरहेछ ? नेपाल नर्सिङ काउन्सिलका रजिष्ट्रार विन्दा घिमिरे भन्छिन्, ‘चुनावबाट आउनुपर्ने सदस्य नआएको र विभिन्न निकायबाट हुने नियुक्ति नपाएपछि कार्यसमिति सदस्यको संख्या झण्डै आधामा झरेको हो ।
उनका अनुसार काउन्सिलमा चुनावबाट तीन जना सदस्य आउछन् । ती पदहरु करीब छ महिना देखि खाली छ । यस्तै नर्सिङ क्याम्पसबाट प्रतिनिधित्व गर्दै आउने एक जना सदस्य पदमा नियुक्ति हुन सकेको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा हुनुपर्ने एक सदस्यको नियुक्ति पनि रोकिएको छ । यस्तै मेट्रोनहरुबाट आउने २ जना सदस्यको कोटा पनि अहिले खाली नै छ ।’

त्यसो त चुनावबाट आएका सदस्यहरुको पदावधि सकिएको छ महिना नाघिसकेको छ । तर काउन्सिल नेतृत्व चुनाव भन्दा मन्त्रालयबाट हुने नियुक्ति पहिले होस भन्ने चाहन्छ ।

काउन्सिल अध्यक्ष प्राध्यापक गोमा निरौला भन्छिन्, ‘मन्त्रालय तथा विभागले गर्नुपर्ने ४ जना सदस्यको कोटा झण्डै एक बर्ष देखि खाली छ । यो गरिदियो भने हामीलाई काम गर्न सजिलो हुन्थ्यो ।’

उनले सदस्यता कम हुँदा काम गर्न गाह्रो भएको भन्दै नियुक्तिका लागि मन्त्रालयको ध्यानाकर्षण गराएको समेत बताइन ।

त्यसो त नर्सिङ काउन्सिलमा हुने हरेक पटकको नियुक्ति र निर्वाचन पनि अन्य क्षेत्रमा जस्तै राजनीतिक रुपमै हिसाव किताव भएर अघि बढछ । सरकारी नियुक्तिमा पार्टी निकटकालाई नियुक्ति दिने र चुनावमा पनि राजनीतिक आस्थाका आधारमा उम्मेद्धार चुनिने र भोट माग्ने चलन बसिसकेको छ ।

काउन्सिल नेतृत्वले चुनाव गराउन ढिलाई हुनुलाई कतिपयले फेरिएको राजनीतिक अवस्था हो कि भनेर समेत अडकल काटन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *