चिकित्सा अध्ययन गर्न आएका विद्यार्थी नै लागू औषध प्रयोगकर्ता !

काशीराम शर्मा

बाँके, ३० वैशाख । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।

अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको सङ्ख्या धेरै रहेको अनुमान गरिएको छ ।

चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ । डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन् । प्रहरीका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा बहालवाला चिकित्सक र एमबिबिएस अध्ययनरत विद्यार्थी लागुऔषध दुव्र्यसनमा फसेका छन् । यसको आँकडा धेरै छ ।

मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन् । प्रहरी अहिले मेडिकल कलेजभित्रको अनुसन्धानमा जुटेको छ । झण्डै १२ जनाभन्दा बढी चिकित्सक तथा कलेजमा अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कोहलपुर शिक्षण अस्पतालमा गाँजा र चरेस सेवन गर्नेको सङ्ख्या त झन धेरै छ । अस्पताल हाताभित्रै त्यसका अवशेष मज्जाले भेटिन्छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई लागुऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गरेपछि यो रहस्य उजागर भएको हो ।

भारतको सीमा बजार रुपेडियाबाट लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमबिबिएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अङ्कुर शर्मालाई पक्राउ गरेको थियो भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका तत्कालीन प्रशासन प्रमुख अरविन्द शर्मा पनि लागुऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट नै पक्राउ परेको थियो ।

मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागुऔषधसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागुऔषधको प्रयोग र कारोवार हुन्छ भन्ने प्रमाणित भएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थी लागुऔषध प्रयोग गरेको फेला परेपछि उक्त अस्पतालले दिने शिक्षा र उपचार सेवामा शङ्का गरिन थालिइएको छ ।

उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रीय सदस्य वसन्त गौतमले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा लागुऔषध दुव्र्यसन तथा कारोवार हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले एमबिबिएस अध्ययन गर्ने कलेजमा लागुऔषधको दुव्र्यसनी बढ्दा सिङ्गो स्वास्थ्य क्षेत्रमा असर पर्ने बताए । आफैँ कुलतमा परेको चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने उनको भनाइ छ ।

“बिरामी जाँच्ने चिकित्सक नै लागुऔषधको कुलतमा फसेपछि उसले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने कुरै आउँदैन”, उनले भने । कानून व्यवसायीसमेत रहेका गौतमले लागुऔषध कारोवारीले शिक्षा क्षेत्रमा कारोवार बढाएर शिक्षा क्षेत्रलाई तहस नहस बनाउन खोजेको दाबी गर्दै यसले सिङ्गो शिक्षा क्षेत्र धमिल्याएको बताए ।

“लागुऔषधले शैक्षिक वातावरण बिग्रिनुका साथै विद्यार्थीको भविष्य अन्योलपूर्ण देखिन्छ”, गौतमले भने । राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागार्इंले एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध दुव्र्यसनमा फस्नु दुर्भाग्य भएको बताए । यस्ता विद्यार्थीले भविष्यमा दिने सेवामाथि आशङ्का उब्जाएको उनको भनाइ छ ।

“राम्रा र जेहेन्दार विद्यार्थीले मात्र एमबिबिएस पढ्छन् भन्ने आमसमुदायको मानसिकतामाथि यसले नकारात्मक सन्देश दिएको छ”, उनले भने । एमबिबिएस अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्दा गुणस्तरीय शिक्षा लिन नसक्ने भएकाले भविष्यमा उसले दिने स्वास्थ्य सेवामाथि पनि प्रश्न चिह्न खडा भएको छ ।

“स्वास्थ्य सेवा दिनका लागि अध्ययन गरिरहेका विद्यार्थीले राम्रोसँग पढेन भने उसले दिने सेवा कस्तो होला”, उनले भने । प्रदेश नं ५ नेपाल प्रहरीका लागुऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत १२ भन्दा बढी विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको बताए ।

उनले विद्यार्थीलाई निगरानीमा राखेको बताउँदै शिक्षण अस्पताल कोहलपुरका विद्यार्थीले लागुऔषध प्रयोग गर्दै आएको प्रमाणित भएको बताए । “हाम्रो अनुसन्धानले त्यहाँ अध्ययनरत केही विद्यार्थीले लागुऔषध प्रयोग गर्छन् भन्ने प्रमाणित भएको छ”, उनले भने, “पक्राउ परेका दुवैजना प्रयोगकर्ता भएको अनुसन्धानबाट खुलेको छ ।”

मेडिकल कलेज व्यवस्थापन समिति र कलेजका प्रबन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै प्रहरी निरीक्षक थापाले कुलतमा फसेका विद्यार्थीलाई सही बाटोमा ल्याउन र कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

“सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र लागुऔषध प्रयोगकर्ता विद्यार्थीलाई सचेत गराउने प्रतिबद्धता अस्पताल प्रशासनले दिएको छ”, उनले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *