‘दातासंग निशुल्क लिएको रगत बिरामीलाई दिँदा शुल्क लिनै पर्ने ?’

काठमाडौँ, २८ बैशाख ।  नेपाल स्वयंसेवी रक्तदाता समाजको १४ औँ केन्द्रीय साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ । साधारणसभामा केन्द्रीय समितिका साथै २५ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता थियो ।

साधारणसभामा यसपटक पनि रगतको मूल्यको विषयले चर्चा पायो । साधारण सभामा बोल्ने रक्तदाताहरुले निशुल्क दान गरेको रगतको मूल्य कायम गरी सरकार र नेपाल रेडक्रसले व्यापार गरेको आरोप लगाए । जवाफमा सरकारी अधिकारी र रेडक्रसका प्रतिनिधिले मूल्यको विषयमा गम्भीर ध्यानाकर्षण भएको आश्वासन दिएका थिए ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले रगत व्यवस्थापनको जिम्मा लिएको रेडक्रसले दान गरेको रगतमै चर्को मुल्य अशुली रहेको दावी गरे । उनले रगत व्यवस्थापनमै समेत रेडक्रस नेतृत्व चुस्त नहुँदा रक्तदाता समेत घटन थालेको बताए । ‘अहिले कतिपयमा आफूलाई चाहिदा पाइने होइन । अहिले किन दिनु भन्ने भावनाको विकास हुन थालेको छ । यो गम्भीर कुरा हो ,’ उनले भने ।

कार्यक्रममा केन्द्रीय रक्तसञ्चार व्युरोको अध्यक्ष समेत रहेकी केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले रगतको मूल्यको विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै आगामी बर्षसम्ममा यसको सकारात्मक नतिजा निस्कने आश्वासन दिइन । उनले सरकारले निशुल्क रगतको वितरणलाई स्वास्थ्य बीमाको कार्यक्रममार्फत सम्वोधन गर्ने तयारी गरेको बताइन ।

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकका निर्देशक डा मनिता राजकर्णिकारले सहज रुपमा रगत उपलव्ध गराउन आफूहरु लागि परेको बताइन । उनले रेडक्रस संस्थागत रगत वितरणमा लागेको समेत जानकारी दिइन ।

कार्यक्रममा समाजका रुपन्देही शाखा प्रमुख कृष्ण चौहान, नेपाल थालेसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक, समाजका उपाध्यक्ष ध्रुव थपलिया, समाजका संस्थापक अध्यक्ष दिव्यमणि दीक्षित लगायतले आफ्नो धारणा राखेका थिए ।

विसं २०६२ माघ १५मा स्थापना भएको स्वयंसेवी रक्तदाता समाजले रक्तदान कार्य र यसको जनचेतनामा संक्रियताका साथ अघि बढेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *