‘पूरानै स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण हुन सक्दैन’

572
Shares


काठमाडौँ, २७ वैशाख । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण पूरानै स्वास्थ्य संस्थाबाट हुन नसक्ने पुनः स्पष्ट पारेको छ ।

नेपाल र मलेसियाबीच श्रम समझदारी हुनु अगावै छनोट भएका स्वास्थ्य संस्थाबाटै कामदारको स्वास्थ्य परीक्षण हुने भनी चलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुईदेशबीच भएको समझदारीअनुसार सूचीकरण भई छनोट हुने स्वास्थ्य संस्थाले मात्र कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने जनाएको छ ।

मलेसिया सरकारसँग भएको समझदारीबमोजिम स्वास्थ्य जाँच गर्ने संस्थाको छनोट प्रक्रिया टुङ्गी नसकेको वर्तमान अवस्थामा स्वास्थ्य परीक्षणको विषयलाई लिएर भएका अनर्गल प्रचारप्रसारबाट भ्रममा नपर्न सबैमा अपिल गरिएको छ ।

समझदारीअनुसार सकारले मलेसिया सरकारबाट प्राप्त कामदारको स्वास्थ्य परीक्षणको मापदण्ड पूरा गर्न सक्ने स्वास्थ्य संस्थालाई गत चैत १८ गते सूचीकरणका आह्वान गरेको थियो । सोही प्रावधानअनुरुप सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाले श्रम मन्त्रालयमा आवेदन दिएका र तीनको प्राविधिक अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउने सन्दर्भमा विभिन्न मुलुकसँग भएका द्विपक्षीय श्रम समझदारी र सम्झौताको पूर्ण पालना गर्न सरकार कटिबद्ध मन्त्रालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *