क्यान्सरका बिरामी : ललितपुरमा भन्दा तीन गुना बढी काठमाडौँमा

काठमाडौँ, १४ बैशाख । ललितपुरमा भन्दा तीन गुणा बढी क्यान्सरका बिरामी काठमाडौँमा भएको पाइएको छ । अर्को जिल्ला भक्तपुरसंग तुलना गर्दा काठमाडौँमा क्यान्सर रोगको संक्रमणमा पर्नेको संख्या झण्डै चार गुणाले बढी हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

परिषदले नै क्यान्सर रोगको अवस्था बुझ्न परिषदले गतवर्ष जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री सुरु गरेको थियो । सो अनुसार काठमाडाँै, ललितपुर र भक्तपुरको नयाँ तथ्य आएको हो ।

‘हामीले सन् २०१८ को जनवरी देखि मे सम्म गरी पाँच महिनाको तथ्यांक केलाएका थियौँ । त्यसबाट सो अवधीमा उपत्यकाका तीन जिल्ल्ला ( काठमाडौँ, भक्तपुर र ललितपुर)मा मात्रै ७०२ जना नयाँ क्यान्सरका बिरामी भेटिए,’ परिषदका कार्यकारी अध्यक्ष प्राडा अञ्जनीकुमार झाले भने । उनका अनुसार ७०२ जना क्यान्सरका नयाँ बिरामीमध्ये काठमाडौँका ६३ प्रतिशत, ललितपुरका २१ प्रतिशत र भक्तपुरका १६ प्रतिशत रहेका छन् ।

सबैभन्दा बढी नेवार जातिमा
परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार विभिन्न जात जातिमध्ये काठमाडौँ उपत्यकामा नेवार जातिमा क्यान्सरको प्रकोप बढी ( ३९ प्रतिशत) पाइएको छ । त्यसैगरी दोस्रोमा ब्रामण क्षेत्री ( ३७ प्रतिशत) र तेस्रोमा अन्य जनजाति ( १९ प्रतिशत)मा क्यान्सरको संक्रमण रहेको पाइएको छ ।

पुरुषमा फोक्सोको र महिलामा स्तन क्यान्सर बढी

अनुसन्धान अधिकृत डा. धिमालका अनुसार पाँच महिनाको अवधीमा गणना गर्दा पुरुषको तुलनामा महिलामा क्यान्सर रोगको जोखिम बढी देखिएको छ ।

उनी भन्छन्, कुल ७०२ जना नयाँ बिरामीमध्ये महिला ३७९ जनामा र पुरुष ३२३ जनामा यो रोग देखा परयो । उनले पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र महिलामा सबैभन्दा बढी स्तन क्यान्सर भएको बताए ।

डा. धिमालले पुरुषमा फोक्सोको पछि दोस्रो बढीमा ओठ तथा मुखको क्यान्सर र त्यसपछि आन्द्रा तथा गुद्धारको क्यान्सर रहेको जानकारी दिए । महिलामा भने स्तन पछि दोस्रोमा फोक्सोको क्यान्सर र तेस्रोमा पाठेघरको मुखको क्यान्सर रहेको उनले बताए ।

अनुसन्धानले उपत्यकामा ७० देखि ७४ बर्ष उमेर समूहका क्यान्सरका बिरामी सबैभन्दा बढी भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले सन २०१८ मात्र क्यान्सर रोगबाट ९६ लाख मानिसको मृत्यु भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *