उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल

नारायण अधिकारी

चितवन, ११ वैशाख । आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रतिष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् ।

नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर जानेको सङ्ख्या घट्न थालेको हो ।

विगतका वर्षमा यहाँका धनाढ्य, व्यावसायिक घरानाका व्यक्तिहरु, पहुँचवाला, उच्च पदमा आसिन व्यक्तिहरु आँखाको उपचारका लागि काठमाडौँ र विदेशसम्म जाने गर्दथे । तर अहिले आँखाको उपचारका लागि भारतसँगै काठमाडौँ लगायतका महत्वपूर्ण शहरबाट यहाँ बिरामी आउन थालेका हुन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष के एल भूषण यहाँको सुविधा काठमाडौँभन्दा राम्रो भएपछि यहीँ एउटा आँखाको शल्यक्रिया गरेको बताउछन् । देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रिया काठमाडौँमा गरेका भूषणले दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया चितवनमै गरेका हुन् । उनी जिल्लाका ठूला व्यवसायी हुन् ।

प्रदेश नं ३ सदस्य घनश्याम दाहालले दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया यहीँ गरे । यही वैशाख १३ गते देब्रे आँखाको शल्यक्रिया गर्ने तयारीमा छन् । उनले भने, “आँखाको उपचारका लागि बाहिर जानुपर्दो रहेनछ ।”

इञ्जिनीयर शरद गोपाल न्याच्यौ आफूले अघिल्लो दिन आँखा देखाएर भोलिपल्टै मोतियाविन्दुको शल्यक्रिया गरेको बताउछन्। आँखाको उपचारका लागि चितवनबाट बाहिर जानु नपर्ने अवस्था भरतपुर आँखा अस्पतालले बनाएको आफूले पाएको उनले बताए ।

कम खर्चमा घरमै बसेर उपचार गर्न पाइने भएपछि सबैको आँखाको उपचारको रोजाइ भरतपुर बनेको उनले बताए । जिल्लाका वरिष्ठ पत्रकार ईश्वर जोशीले हालै मात्र मोतियाविन्दुको शल्यक्रिया भरतपुर आँखा अस्पतालमा गराए । अस्पतालमै भेटिनुभएका जोशीले घर नजिकै उच्चस्तरको सेवा पाएको बताए ।

निजी क्षेत्रको नभएर समुदायको अस्पतालले विशिष्ट किसिमको सेवा दिन थालेपछि जिल्ला, छिमेकी जिल्ला र भारतीय भूमिबाट आउने बिरामी लाभान्वित भएका छन् । आँखा उपचारमा झण्डै तीन दशकको अनुभव सङ्गाल्नुभएका वरिष्ठ रेटिना विशेषज्ञ प्रा डा रघुनन्दन बेन्जुको नेतृत्वमा आठ विशेषज्ञ चिकित्सकले अस्पतालमा उपचार गराउँदै आएका छन् ।

नेपाल नेत्रज्योति सङ्घका प्रदेश नं ३ का संयोजक चीजकुमार मास्के बेन्जु रेटिनाको क्षेत्रमा नेपालको अग्रणी चिकित्सक भएको बताउछन् । उनीसँग उपचार गर्न काठमाडौँ लगायतका क्षेत्रबाट समेत बिरामी भरतपुर आउने गरेको मास्केले बताए ।

डा बेन्जुले भरतपुर आँखा अस्पतालले नानी प्रत्यारोपणसहित सबै खालका विशेषज्ञ सेवा दिँदै आएको बताए । आँखाको उपचारका लागि बाहिर जान नपर्ने उनको दावी छ । सङ्घका सभापति एवं आँखा अस्पतालका अध्यक्ष कृष्णराज धरेल दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, समुदायको सहयोग र सहानुभूति लगायतका कारण भरतपुर आँखा अस्पताल स्तरीय सेवा दिन सक्षम भएको बताए ।

विगतका वर्षमा सङ्घकै सदस्य आँखाको उपचारका लागि बाहिर जाने गरे पनि पछिल्ला वर्षमा बाहिरबाट समेत बिरामी आउने क्रम बढेर गएको उनले बताए । धरेलले आजभोलि उपचारका लागि यहाँका धनाढ्य, सांसद, चिकित्सक, इञ्जिनीयर लगायतका समाजका प्रतिष्ठित व्यक्तिसमेत आउने क्रम बढेर गएपछि आफूहरु उत्साहित बनेको बताए ।

उनका अनुसार अस्पताल र यसका सेवा केन्द्रमार्फत वर्षमा एक लाख ७६ हजार बढी बिरामीको उपचार गरिँदै आएको छ । अस्पतालले झण्डै छ हजार जनाको शल्यक्रिया गर्ने गरेको छ ।

भरतपुर आँखा अस्पताल सञ्चालक समितिका सदस्य केशव अधिकारी अस्पतालले उपचारसँगै अध्यापन, अनुसन्धान र जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *