प्रदेश अस्पतालमा सिटी स्क्यान सेवा

सुर्खेत, ११ वैशाख । कर्णालीवासीले सिटी स्क्यान सेवाका लागि अब नेपालगञ्ज, काठमाडौँलगायतका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वास्थ्य सेवा विभागको सहयोगमा वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा डम्बर खड्काले नयाँ भवनमा सिटी स्क्यान मेशिनसहित आवश्यक संरचना जडान गरिसकेको बताए । उनले सिटी स्क्यान सेवा सञ्चालन गर्न झण्डै रु २० लाख खर्च भएको जानकारी दिए । यो सेवा सञ्चालनमा आउँदा टाउकोका बिरामीका साथै दुर्घटनाका घाइतेलाई सहज भएको छ । “सुर्खेतमै कम खर्चमा सिटी स्क्यान गर्न पाइनेभो”, मेसु डा खड्काले भने, “यसअघि क्षेत्रीय÷प्रदेशस्तरीय अस्पताल भए पनि सिटी स्क्यानका बिरामी आए भेरी अञ्चल अस्पताल नेपालगञ्ज ‘रेफर’ गर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या अन्त्य भएको छ ।”

अस्पतालले गत वर्षदेखि आइसियु, एनआइसियु, डाइलासिस सेवा सञ्चालनमा ल्याएको थियो । यी सेवा सञ्चालनसँगै प्रदेश बाहिर वा भारतीय शहरमा गएर महँगो शुल्क तिरेर औषधोपचार गर्नुपर्ने बाध्यता हटेको छ । अत्याधुनिक शव परीक्षण घर र ट्रमा ब्लक निर्माणको खाँचो रहेको अस्पताल व्यवस्थापनले बताएको छ ।

अस्पतालले सिटी स्क्यान गर्ने बिरामीको प्रकृतिअनुसार शुल्क निर्धारण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष श्याम कँडेलले उपचारको प्रकृति हेरेर बिरामीबाट कम्तीमा रु तीन हजारदेखि पाँच हजारसम्म शुल्क निर्धारण गरिएको जानकारी दिए ।

पचास श्ययाको उक्त अस्पताललाई केही दिन अघि बसेको कर्णाली प्रदेश सरकारले शिक्षण अभ्याससहितको ३०० श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरिसकेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले असारअगावै श्यया विस्तार गर्नुका साथै आवश्यक न्यूनतम जनशक्तिको व्यवस्थापन गर्ने तयारी गरेको छ ।

जनशक्ति अभाव

भौतिक पूर्वाधारसँगै अत्याधुनिक सेवा सुविधाको विस्तार भए पनि प्रदेश अस्पतालले दक्ष जनशक्तिको अभाव झेल्नुपरेको छ । कर्मचारी समायोजनपछि झन यस अस्पतालले विशेषज्ञ चिकित्सक गुमाउनुपरेको छ ।

पहिल्यै विशेषज्ञ चिकित्सक न्यून रहेको अस्पतालमा कर्मचारी समायोजन प्रक्रियाले उल्टै अभाव सिर्जना गरेको छ । मेसु खड्काले चिकित्सक अभावका कारण आइसियु, एनआइसियु र अपरेशन थियटरलगायतका सेवा ठप्प हुने अवस्था आएको गुनासो पोखे । “आवश्यक जनशक्ति नहुँदा बिरामीलाई छिटो–छरितो एवं भरपर्दो सेवा दिन सकिरहेका छैनौँ”, उनले भने, “एक जना डाक्टरले ३०/३५ जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ ।”  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *