हेल्थ असिस्टेन्ट संघका अध्यक्षबाट दाताराम अधिकारी बर्खास्त

काठमाडौँ, २७ चैत । हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरेको छ।

बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्को अध्यक्षतामा आज बसेको संघको बैठकले अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

यता अधिकारीले भने आफूलाई कारवाही गरेको भनेर हल्ला फिजाइएको बताए । उनले कार्यसमितिको बहुमत सदस्य आफूसंगै रहेको भन्दै उपाध्यक्षको बैठकले गरेको भनिएको निर्णय आधिकारिक नभएको बताए ।

विवादको चुरो कुरो समायोजन

बर्खास्त गर्ने समूहले अध्यक्ष अधिकारीमाथि समायोजनको इस्युमा अडान नलिएको र हेल्थ असिस्टेन्टको विरुद्धमा हुने गरी सरकारसंग सहमति गरेको आरोप लगाएको छ ।

‘पद, जेष्ठता, शैक्षिक योग्यता र खाइपाई आएको सेवा–सुविधा गुम्नेगरी कर्मचारी समायोजनको सूची प्रकाशित हुँदा पनि निर्णायक भूमिका निर्वाह नगरी संस्थालाई आफ्नो व्याक्तिगत स्वार्थमा उपयोग गर्ने थलो बनाए,’ बरिष्ठ उपाध्यक्ष खड्काले भने ।

यस्तै संघले उच्च शिक्षा अध्ययनको बाटो बन्द भई सेवा प्रवेश गर्न रोकिने अवस्था हुँदा समेत मौन बसेको आरोप पनि अधिकारीलाई लगाएको छ।

आधिकारिकता दावी आ आफ्नै
बरिष्ठ उपाध्यक्ष खड्काले दुई दिन अघि चार जना केन्द्रीय सदस्यले अध्यक्षमाथि अविश्वासको प्रस्ताव राखेपछि स्पष्टीकरण सोधेको तर जवाफ दिन नआएपछि आज बसेको बैठकले बहुमतको आधारमा अधिकारीलाई अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको बताए ।

‘उहाँ संगठन भन्दा पनि व्यक्तिगत लाभमा हिड्नुभयो । त्यसैले कार्यसमितिका बहुमत सदस्यले उहाँलाई पदमुक्त गर्ने निर्णय गरियो’ खड्काले भने ।

यता बर्खास्तमा परेका अधिकारीले बहुमत सदस्य आफूसंग नै रहेको बताए । ‘१७ सदस्यीय कार्यसमिति भएपनि २ जना पहिले नै कारवाही परेका छन् । त्यसैले अहिले बाँकी कार्यसमिति १५ जनाको छ । त्यसमा आठ जना अहिले हामीसंगै छौँ । मिटिङ गरिरहेका छौँ । कसरी मलाई हटाउन मिल्छ ?’ उनले भने ।

यता बरिष्ठ उपाध्यक्ष खड्काले अब सम्मेलन आयोजक समिति गठन गरि नयाँ सम्मेलन गर्ने तयारी रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *