हावाहुरी प्रभावित बस्तीमा पानी शुद्धिकरण गर्न पठाइयो ‘वाटर एम्वुलेन्स’

56
Shares

काठमाडौँ, १९ चैत । हावाहुरी प्रभावित बारा र पर्सामा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी एम्बुलेन्स पठाएको छ ।

हावाहुरी, आँधीले क्षति पु¥याएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशनअनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स सोमबार त्यसतर्फ पठाएको हो ।

पानी शुद्धीकरण गर्ने पियुस, एक्वा ट्याब र ब्लिचिङ पाउडरलगायतका सामग्री बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय इटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा पठाइएको हो ।

विशेष गरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगतरुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने पत्ता लगाइने खानेपानी मन्त्रालयले जनाएको छ ।

उक्त एम्बुलेन्समा आधुनिक प्रविधिको प्रयोगशाला जडान गरिएको हुन्छ । उक्त प्रयोगशालाका माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ । पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुनेहुँदा सबै किसिमका उपाय अपनाइने विशेषज्ञ पाण्डेले बताए ।

विभागले आफ्नो मातहत रहेका शाखा कार्यालयमार्फत र नेपाल खानेपानी संस्थानलेसमेत आफ्नो क्षेत्राधिकारभित्र रहेर हावाहुरी प्रभावित क्षेत्रमा कार्य गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *