ठगी आरोपमा थुनिएका गण्डकी मेडिकल कलेजका दुई कर्मचारी रिहा

352
Shares

कास्की, १९ चैत । विद्यार्थीसंग बढी शुल्क असुलेर ठगी गरेको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुई कर्मचारी रिहा भएका छन् ।कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा रिहा भएका हुन् ।

सोमबार उनीहरु जिल्ला अदालतको मागबमोजिम १७ लाख बैंक जमानतमार्फत धरौटी रकम बुझाएर तारेखमा रिहा भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए ।

आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीहरलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।

कलेजले तोकिएकोभन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते उहाँहरुलगायत कलेजका ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा प्रहरीले फागुन २२ गते खनाल र शर्मालाई पक्राउ गरेको थियो ।

कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत अन्य नौ जना सञ्चालक एवम् कर्मचारी अझसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ ।
यसअघि अध्यक्ष अर्याललगायत छ जनाले पक्राउ पुर्जीविरुद्ध वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेकामा चैत १ गते अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *