प्रदेश नं ३ ले शुरु गर्‍यो मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम

500
Shares

हेटौँडा, १७ चैत । हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ ।

प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताए ।

“तीस देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ताका लागि यो कार्यक्रमले कति स्वस्थ छौं भनेर जानकारी दिन्छ”, उनले भने, “तर यसमा हामीले रोग देखाउने हो, उपचार भने उहाँहरुले चाहेको स्थानमा गर्नसक्नुहन्छ ।” उनले कार्यक्रममा १६ किसिमका स्वास्थ्यपरीक्षण निःशुल्क हुने जानकारी दिँदै कार्यक्रम विस्तारै प्रदेश नं ३ को प्रत्येक जिल्लामा लैजाने बताए ।

उनले अबका दिनमा हेटौँडा अस्पताललाई पनि मेडिकल कलेजको रूपमा विकास गर्दै लैजाने बताए । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले स्वस्थ रहनका लागि व्यक्तिले सरसफाइ र खानपिनमा विशेष जोड दिनुपर्ने र स्वास्थ्यजाँच नियमित गराउनुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर भएर ठूलो रोग लाग्दा मात्र स्वास्थ्य संस्था पुग्ने, असहाय र शहीद परिवारका लागि स्थानीय निकायको सिफारिसमा मात्र जाँच गराउने जानकारी दिए ।

सामाजिक विकासमन्त्री युवराज दुलालले नसर्ने रोगका कारण अल्पायुमा मृत्यु हुनेको सङ्ख्या गाउँमा भन्दा पनि शहरमा बढी देखिएकोले हेटौँडा उपमहानगरको अस्पतालबाट नमूनाका रूपमा कार्यक्रम शुरु गरिएको बताए । उनले हाललाई कार्यक्रम उपमहानगरपालिकासहित भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङका जिल्ला अस्पतालमा शुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा विपन्न, अल्पसङ्ख्यक, दलित, महिला, शहीद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वमा घाइतेका लागि निःशुल्क स्वास्थ्यपरीक्षण हुनेछ । सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि यस कार्यक्रको लागि चाहिने रकम रु तीन करोड २० लाख बजेट छुट्याइएको र पाँचवटा स्थानीय तहका अस्पतालमा दुई÷दुई हजार व्यक्तिको स्वाथ्यपरीक्षण गरिनेछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *