मेडिकल काउन्सिलले मनायो ५६ औँ स्थापना दिवस

440
Shares

काठमाडौँ, १५ चैत । नेपाल मेडिकल काउन्सिले आफ्नो ५६ औँ स्थापना दिवस मनाएको छ । यसपटक काउन्सिलले एक महिना ढिला गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

यसअघि तय गरिएको १६ फागुनको दिनमा सरकारले राष्ट्रिय शोक मनाएपछि काउन्सिले आफ्नो स्थापना दिवस एक महिना पछि सारेको हो ।

गत १५ फागुनका दिन हेलिकप्टर दुर्घटनामा परि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएपछि सरकारले १६ फागुनलाई राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । काउन्सिलले त्यसलगत्तै आफ्नो दिवस मनाउने कार्यक्रम स्थगित गरेको थियो ।

शुक्रबार आयोजित विशेष समारोहमा काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले आफूहरुले गरेका पछिल्ला कामको बारेमा चर्चा गरेका थिए । उनले काउन्सिल पछिल्लो पटक चिकित्सकहरुले लिनुपर्ने कन्टिनियुयिङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) तालिम शुरु गर्ने योजनामा क्रियाशिल भएको बताए । ‘तालिम शुरु गर्ने अन्तिम चरणमा छौँ । पेशागत दक्षताका लागि सीपीडी सबै चिकित्सकका लागि अनिवार्य छ । र यसमा सबै चिकित्सकको सहभागिता हुनुपर्छ,’ उनले भने ।

कार्यक्रममा काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले पछिल्लो एक बर्षमा भए गरेका गतिविधिको विवरण सार्वजनिक गरेका थिए ।

कार्यक्रममा गत शालको स्थापना दिवसमा अनुपस्थित भएका पूर्वअध्यक्षहरुरु डा .पूर्णचन्द्र कर्माचार्य, डा. दामोदर गजुरेल, डा. जागेश्वर गौतमलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यस्तै काउन्सिलमा लामो समय काम गर्ने कर्मचारी देवकुमार चौधरीलाई २१ हजार २१ रुपैयाँ नगद सहित दीर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

सीपीडी शुरु गर्नुस् मन्त्रालय साथमा छ : स्वास्थ्य राज्यमन्त्री डा यादव
यसैबीच स्थापना दिवस समारोहमा प्रमुख अतिथि बन्न पुगेका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सीपीडी तत्काल लागू गर्न काउन्सिल नेतृत्वलाई निर्देशन दिएका छन् । उनले त्यसका आवश्यक परे मन्त्रालयले सहयोग गर्ने बचनबद्धता समेत प्रकट गरे ।

‘चिकित्सकहरु अपडेट हुने कुरा हो । यो त तत्काल सुरु गर्नुपर्छ । तपाईँहरुलाई आवश्यक छ भने मन्त्रालयले समेत सहयोग गर्न सक्छ,’ मन्त्री यादवले भने ।

उनले एमबीबीएस तह र पीजी तहको कोर्ष समेत समय सापेक्ष अपडेट गर्नुपर्ने बताए । चिकित्सा शिक्षा ऐनले विश्वविद्यालय र काउन्सिलको धेरै अधिकार कटौती गरेको समेत उनले सो प्रशंगमा सुनाए ।

कार्यक्रममा बरिष्ठ चिकित्साविद प्राडा रमेशकान्त अधिकारीले काउन्सिलको पछिल्लो नेतृत्वले गरेका कामहरु स्वागतयोग्य भएको बताए । उनले सीपीडी लागू गर्ने बेलामा केही विरोध हुनसक्ने भन्दै त्यसबारेमा अझै बुझाउने प्रयासमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा निजी मेडिकल कलेजका तर्फबाट बोल्दै प्राडा भोला रिजालले चिकित्सा शिक्षा र स्वास्थ्य उपचारमा ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई सरकारले हाम्रा होइनन् भन्ने व्यवहार गरेको बताए ।

उनले चिकित्सा शिक्षा विधयेकमा भएका अनसन्तुष्ठीलाई सम्वोधन नगरिएको, मेडिकल कलेजले लिने शुल्कका विषयमा आफूहरुसंग छलफल नगरेको लगायतका विषयमा असन्तुष्ठी पोखेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष डा सोमनाथ अज्र्याल, डा विजय शर्मा, फेन्डस अफ नेपाल मेडिकल काउन्सिलका तर्फबाट लोकेन्द्र मल्लिक, प्राडा ढुण्डी पौडेल  लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *