स्वास्थ्यको समायोजन सूची आजै अबेरसम्म प्रकाशित गर्ने आश्वासन
काठमाडौँ, १५ चैत । कर्मचारी समायोजन सकिएको घोषणा गरेको २४ घण्टा सम्म स्वास्थ्य समूहका कर्मचारीको सूची सार्वजनिक गर्न नसकी आलोचित बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धैर्य गर्न स्वास्थ्यका अधिकारीहरुलाई अनुरोध गरेको छ । उसले आज रातीसम्म भएपनि तल्लो तहका कर्मचारीहरुको सूची सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिवद्धय महेन्द्रप्रसाद श्रेष्ठ र जनार्दन गुरागाईँ आज सामान्य प्रशासन मन्त्रालयमा पुगेर सूची सार्वजनिक नगर्नुको कारण सोधेका थिए । जवाफमा बेलुकासम्म कुनै एउटा तहको भए पनि सूची सार्वजनिक गर्ने बताएका हुन् ।
‘समायोजन सकियो भनियो । तर स्वास्थ्य समूहका कर्मचारीको समायोजन सूची खै त ? भनेर प्रश्न आउने क्रम बढदै गयो । हामीले यसबारेमा बुझ्न सामान्य पुगेका थियौँ । उनीहरुले आज रातीबाटै भएपनि सूची सार्वजनिक गर्छौँ । सबैको एकैपटक नभएपनि जति सकिन्छ गर्दै जान्छौँ भनेका छन् । आज सायद होला कि ?’सहसचिव गुरागाईँले भने ।
स्रोतका अनुसार सामान्यले पहिले छैटौँ सातौँ तहसम्मको कर्मचारीको सूची पहिले र त्यसपछि माथिल्ला तहका कर्मचारीको सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसअघि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिहीबार पत्रकार सम्मेलन गरी समायोजन सकिएको बताएका थिए । उनले स्वास्थ्य समूहका २७ हजार ३०३ जना कर्मचारी समायोजनमा परेको जानकारी दिएका थिए ।
सम्पर्क इमेल : [email protected]