लगानी सम्मेलनका सहभागीको स्वास्थ्य हेर्ने जिम्मा छ वटा सरकारी अस्पताललाई
काठमाडौँ, १३ चैत । सरकारले आगामी शुक्रबार र शनिबारका लागि तय गरेको लगानी सम्मेलनका लागि छ वटा सरकारी अस्पताल तयारी अवस्थामा राखेको छ ।
सम्मेलनमा सहभागी हुन आएकाहरुमा देखिन सक्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै छ वटा अस्पताललाई तयारीमा राखेको हो ।
तयारी अवस्थामा राखिएका अस्पतालहरुमा वीर अस्पताल महावौद्य, निजामती अस्पताल नयाँ बानेश्वर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सैनिक अस्पताल छाउनी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल र भक्तपुर अस्पताल भक्तपुर रहेका छन् ।
हवको रुपमा तोकिएका ती अस्पतालहरुले आवश्यकताका आधारमा नजिकका अरु अस्पतालहरुसंग समन्वय गर्ने गरी तयारी गरिएको स्वास्थ्य मन्त्रालयका आपतकालिन तथा विपद् व्यवस्थापन ईकाइ प्रमुख चुडामणी भण्डारीले बताए ।
उनले ती हव अस्पतालले एम्बुलेन्स सहित स्वास्थ्यकर्मीहरु (सर्जन, नर्स, प्यारामेडिक्स लगायत)को टोली समेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्ने सो सम्मेलनमा ४० देशबाट ६०० जनाभन्दा बढी विदेशी लगानी कर्ताको उपस्थिति हुने बताइएको छ ।
सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था नेपाली निजी क्षेत्र गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सहभागिता रहनेछ ।
सम्पर्क इमेल : [email protected]