‘कोशी अञ्चल अस्पताललाई निजी स्वास्थ्य संस्थाले छोप्यो’

292
Shares

काठमाडौँ, ११ चैत । सरकारी अस्पतालको कम्तीमा दुई सय मिटर वरपर निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने व्यवस्था गर्न प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएको छ । कोशी अञ्चल अस्पतालको अनुगमन पछि  प्रदेश सरकारले केन्द्र सरकारलाई यस्तो सुझाव दिएको हो ।

आइतबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटी कोशी अञ्चल अस्पतालमा गरेको  अनुगमन  प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

सो अध्ययन प्रतिवेदनमा अस्पतालको अहिलेको अवस्था, सच्याउन पर्ने कार्यहरु र भविस्यमा सुधार गर्नुपर्ने बुँदाहरुको बारेमा समेत उल्लेख छ ।

केन्द्र सरकारलाई दिइएको सुझावको एउटा बुँदामा ‘निजी क्लिनिक पोली क्लिनिक निजी अस्पताल ल्याव आदिले छपक्कै छोपी अस्पताल आफै हराए जस्तो अवस्थामा देखिन्छ । त्यसैले कम्तीमा २०० मिटरको क्षेत्रमा यस्ता निकायको सञ्चालन तथा दर्ता सम्वन्धित काुनन अनुसार बर्जित गर्नुपर्ने देखिन्छ,’ भनिएको छ ।

यस्तै सुझावको अर्को बुदामा ‘अस्पतालमा काम गर्ने कर्मचारीहरु धेरै जसो निजी क्लिनिक ल्याव औषधि पसल वा निजी अस्पतालमा कार्यरत वा आवद्ध देखिएकोले यस विषयलाई गम्भीर रुपमा लिई अस्पतालमै मात्र कार्य गर्ने बाताबरण बनाउन उत्प्रेरित गराई सेवा सुविधा थप गर्ने र निजी तर्फको ध्यान दिन नपर्ने, नपाउने गरी बाताबरण सिर्जना गर्ने,’ भनिएको छ ।

अस्पताल भित्रै सूर्तिजन्य पदार्थको प्रयोग भएको देखेको अनुगमन टोलीले सुझावको एउटा बुँदामा ‘अस्पताल भित्र सूर्तिजन्य पदार्थ सेवन गर्न बोक्न आसपासमा बिक्री वितरण नगर्न नगराउन कडा निगरानी राख्नुपर्ने सेवन गर्ने गराउने जो सुकैलाई अस्पताल हातभित्र ऐन कानुन बमोजिम तुरन्त कारबाही गर्ने व्यवस्था अवलम्बन गर्न,’ समेत भनेको छ ।

सुझाव प्रतिवेदनमा अस्पतालको भविस्यको मार्गचित्र समेत उल्लेख गरेको छ ।

प्रतिवेदन बुझ्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले दिइएका सुझावहरु अध्ययन गरी क्रमश कार्यान्वयनमा ल्याइने प्रतिवद्धता जनाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्रराज डोटेलले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *