‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी

436
Shares

डोल्पा, ७ चैत । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ ।

डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत स्थानमा गत वर्ष वैशाखमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८० स्थानीयवासीको स्वास्थ्य जाँचगर्दा २२ जनामा हेपाटाइटीस बी पोजेटिभ देखिएको थियो ।

“शिविर सञ्चालन हुनुभन्दा केही हप्ता अगाडि उपल्लो डोल्पाकै दुई जनाको उपचारका क्रममा हेपाटाइटीस बीबाट जिल्ला अस्पतालमा मृत्यु भएपछि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो”, जिल्ला अस्पताल डोल्पाका डाक्टर हिमबिक्रम शाहीले भने, “ त्यहाँका नागरिकमा यस्तो सरुवा रोगको संकेत देखिएपछि चिकित्सकसहितको टोलीले रगत परीक्षणका लागि त्यस क्षेत्रमा खटाइएको थियो ।

उपल्लो डोल्पाको विकट क्षेत्रमा केही संक्रमित व्यक्तिबाट यो रोग फैलिँदै गएको अनुमान चिकित्सकको छ । हेपाटाइटीस बी पोजेटिभ देखिएका सबै व्यक्तिलाई रोगको विषयमा कुनै पनि जानकारी छैन । रगत परीक्षणपछि संक्रमित व्यक्तिलाई हेपाटाइटीस बी पोजेटिभ रोग देखिएको सम्बन्धमा स्थानीयवासीसँग सोध्दा यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको चिकित्सक शाहीले जानकारी दिए ।

रोगी व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दा, रगत आदनप्रदान गर्दा र रोगी व्यक्तिले प्रयोग गरेको सुइ, सिरिन्ज, ब्रसहरु विना नर्मलीकरण प्रयोग गर्दा यो रोग सर्ने चिकित्सकको भनाइ छ । तर हात मिलाउँदा, अंकमाल गर्दा यो रोग नसर्ने उनीहरुको दाबी छ ।

आगामी वैशाखमा संक्रमित क्षेत्रमा पुनः निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिने लक्ष्य लिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । उपल्लो डोल्पालीको बिहेवारी आफ्नो गाउँ ठाउँमामात्रै हुने भएकाले उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिकामात्रै नभइ शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकामा पनि यो रोगका विरामी हुन सक्ने अनुमान चिकित्सक शाहीको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *