चिकित्सक र मिर्गौला प्रत्यारोपितबीचको फुटवल खेल १-१ को बराबरीमा
काठमाडौँ, ३० फागुन । विश्व मिर्गौला दिवसको अवसरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको चिकित्सक र मिर्गौला प्रत्यारोपितबीचको मैत्रीपूर्ण फुटवल खेल १ – १ गोलको बराबरीमा टुंगिएको छ ।
आज विहान भक्तपुरस्थित सैनिक महाविद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण फुटवल खेल बराबरीमा टुंगिएको हो ।
चिकित्सक टोलीको नेतृत्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवले गरेका थिए । मिर्गौला प्रत्यारोपित टोलीको नेतृत्व ध्रुब विक्रम मल्लले गरेका थिए ।
३० मिनेटमा निर्धारण गरेको खेलमा गोलको अग्रता भने चिकित्सक टोलीले गरेको थियो । खेल शुरु भएको सातौँ मिनेटमा चिकित्सक टोलीको तर्फबाट गोल गरी अग्रता लिएको थियो ।
तर सो अग्रता १४ मिनेट टिक्न सकेन । खेलको २१ औँ मिनेटमा प्रत्यारोपितको तर्फबाट अर्को गोल गरी गोल फर्काइएको थियो ।
चिकित्सकको टोलीमा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, औषधि उत्पादक संघका अध्यक्ष दीपक प्रसाद दाहाल समेत खेलेका थिए ।
यस्तै दिवसकै अवसरमा आयोजित प्रत्यारोपितबीचको व्याडमिन्टन तथा दौड प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो ।
उपप्रधानमन्त्री, राज्यमन्त्री र कोरियन राजदुतले गरे अंगदान गर्ने घोषणा

यसैबीच उपप्रधानमन्त्री यादव, स्वास्थ्य राज्यमन्त्री डा यादव र नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिकले मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका छन् ।
अंगदानको घोषणा गरेका मन्त्री तथा राजदुतलाई कलाकार मदनकृष्ण श्रेष्ठले अंगप्रत्यारोपण गर्ने प्रमाणपत्र उपलव्ध गराएका थिए ।
रोग लाग्नै नदिन तर्फ लागौँ
यसैबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्दै नलाग्ने अवस्था सिर्जना ठिक हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । पछिल्लो समय मिर्गौला लगायत अन्य नसर्ने रोगको प्रकोप बढेको भन्दै उनले त्यसलाई रोक्न खानपान तथा जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए । साथै नियमित रुपमा स्वास्थ्य जाँच गर्न समेत आग्रह गरे ।
सरकारले मिर्गौलाका विरामीको उपचारमा सानो सहयोग गर्न सकेको भन्दै रोगको उपचारमा भन्दा रोग लाग्ने नदिने अवस्थाको सिर्जना गर्न सबै सरोकारवाला एक जुट हुनुपर्ने बताए ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले मिर्गौला फेल भएका व्यक्ति डायलासिस भन्दा प्रत्यारोपणमै जोड दिनुपर्ने बताए । उनले त्यसभन्दा अघि मिर्गौलाको नियमित जाँच गर्न सुझाव दिए । ‘ प्रत्यारोपणपछि अरु व्यक्ति सरह नै सक्षम भईन्छ । जसरी आज हामी संगै फुटवल खेल्यौँ । राज्यमन्त्री डा यादवले भने, मिर्गौला रोग रोकथामका लागि हामीसबै मिलेर काम गरौँ ।’
कार्यक्रममा बोल्दै अंगप्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण विज्ञ डा पुकार चन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नेपालले छोटो समयमा उल्लेख्य प्रगति गरेको दावी गरे । संसारका धेरै कम देशमा डायालासिस र प्रत्यारोपण निशुल्क हुने भन्दै नेपाल जस्तो गरीव देशले जनताको लागि सो सुविधा दिएको बताए ।
‘केही बर्ष अघिसम्म मिर्गौला फेल भएका ९० प्रतिशत बढी विरामीको केही महिना भित्रै मृत्यु हुन्थ्यो । अहिले त्यो छैन । डायलासिस निशुल्क छ । प्रत्यारोपण निशुल्क छ । त्यसपछि औषधिका लागि पनि केही अनुदानको व्यवस्था छ । यो ठुलो कुरा हो,’ उनले भने ।
संसारका विकसित तथा धेरै देशहरुमा अंगप्रत्यारोपणको समस्याको समाधान ब्रेन डेथ भएका व्यक्तिबाट गर्ने गरिन्छ । यहाँ त्यो अझै भईसकेको अवस्था छैन । ‘अबको हाम्रो टार्गेट मस्तिस्कमृत्युबाट अंग लिन सक्ने बानीको विकास गर्नु हो । त्यसका लागि जनचेतना फैलाउनु जरुरी छ,’ डा श्रेष्ठले भने ।
कार्यक्रममा बरिष्ठ कलाकारद्धय महजोडी, नेपालका लागि अष्टेलियाका राजदुत, नेपालका लागि दक्षिण कोरियाका राजदुत, औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहाल लगायतले बोलेका थिए ।



विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



