अस्पतालजन्य फोहर व्यवस्थापनका लागि १८ वटा अस्पताल सहकार्य गर्दैै

काठमाडौँ, २८ फागुन । काठमाडौँ महानगरपालिका वडा नं ३ भित्र सञ्चालित निजी तथा सरकारी अस्पतालले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सहकार्य गर्ने भएका छन् । बसुन्धरास्थित विपी स्मृति अस्पतालमा मंगलबार बसेको अस्पताल प्रतिनिधिहरुको बैठकले सरकारले तोकेको मापदण्ड अनुसार फोहर व्यवस्थापन गर्न सहकार्य गर्ने निर्णय गरेको हो । अस्पतालहरुको सो कार्यमा कामनपा ३ नं वडाले समन्वय गर्ने प्रतिवद्धता जनाएको छ ।

पछिल्लो समय अस्पताल जन्य फोहोर व्यवस्थापन गरेको नगरेको बारेमा बाताबरण विभाग, स्वास्थ्य मन्त्रालय, तथा अरु नियमक निकायले नियमित रुपमा अस्पतालहरुको अनुगमन गर्न थालेका छन् । अस्पतालहरुको हव बनिसकेको कामनपा ३ पर्ने महारागञ्ज, चक्रपथ बसुन्धरा क्षेत्रका कतिपय अस्पतालहरुलाई नियमक निकायले फोहर व्यवस्थापन नगरेको भन्दै व्ल्याक लिष्टमा समेत राख्न थालेपछि यस क्षेत्रका अस्पतालहरु फोहर व्यवस्थापनमा कस्सिएका हुन् ।

‘यो नियमक निकायका लागि मात्रै होइन, हामी सबैका लागि नै जरुरी कुरा हो । अस्पतालजन्य फोहर व्यवस्थापन गर्नै पर्दछ । सरकारले तोकेको मापदण्ड अनुसार नै हामीले फोहर व्यवस्थापन गर्ने पद्धतीको बारेमा छलफल अघि बढाएका हौँ,’ बैठकमा विपी स्मृति अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले भने ।

सोही अस्पतालका मेडिकल डाइरेक्टर डा. धनबहादुर रानाले अस्पतालजन्य फोहर घातक हुने भएकोले यसको उचित व्यवस्थापन गर्नु निकै नै जरुरी भएकोले यस क्षेत्रका अस्पतालहरु मिलेर फोहोर व्यवस्थापनमा कार्य अघि बढाउन लागेको बताए । उनले भने, ‘शुरुमा हामी दुई चार वटा अस्पताल मात्रै छलफलमा थियौँ । पछि अरु अस्पतालले पनि सामुहिक रुपमा यो कार्यलाई अघि बढाउँ भनेपछि हामीले यो कार्यलाई अघि बढाउन थालेका हौँ । हाम्रो यो कदमलाई वडा कार्यालयले एकदमै सकारात्मक रुपमा लिएको छ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।’

आजको बैठकमा भर्खरै फोहर व्यवस्थापन शुरु गरेको त्रिवि शिक्षण अस्पताल संगै कान्ति अस्पताल, नेपाल प्रहरी अस्पतालका निर्देशक तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

यस्तै निजी तर्फ कान्तिपुर डेन्टल तथा जनरल हस्पिटल, ग्रिनसिटी अस्पताल, ईशान बाल तथा महिला अस्पताल, मेट्रो काठमाडौँ अस्पताल, चिरायू अस्पताल, महेन्द्र नारायण निधी अस्प्ताल, सहारा केयर अस्पताल, बुलन्द सिद्धी अस्पताल, अन्तराष्ट्रिय बालमैत्री अस्पताल, दि स्कीन अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगायतबाट अस्पताल निर्देशक तथा प्रतिनिधिहरु सहभागी थिए ।

यस्तै अस्पतालजन्य फोहर फोहर व्यवस्थापन सम्वन्धी विज्ञ, फोहर व्यवस्थापन गर्ने मेसिन सप्लायरहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्दै कामनपा वडा नं ३ का वडा अध्यक्ष दीपक केसीले महानगरपालिकाले गर्नुपर्ने फोहर व्यवस्थापनको कार्यलाई अस्पतालहरु आफैले संगठित भएर गर्न खोजेको देख्दा खुशी लागेको बताए । उनले मेडिकल हवको रुपमा रहेको यस वडाका अस्पतालले फोहर व्यवस्थापनमा पनि नमूना कार्य गर्ने विश्वास लिए । उनले सो कार्यका लागि महानगरले गर्नुपर्ने सबै सहयोग गर्ने बचनबद्धता प्रकट गरे ।

कार्यक्रममा बोल्दै कान्तिपुर डेन्टल तथा जनरल हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले यो अस्पतालजन्य फोहर व्यवस्थापन आवश्यक रहेको भन्दै त्यसमा सहकार्य गर्न तयार रहेको बताए ।

यस्तै त्रिवि शिक्षण अस्पतालकी कोपिला श्रेष्ठले फोहर व्यवस्थापन गर्न आफूहरुलाई ५ बर्ष लागेको भन्दै त्यसका प्रक्रिया र त्यसले दिने फाइदाको बारेमा चर्चा गरेकी थिइन ।

कान्ति बाल अस्पतालका निर्देशक डा गणेश राईले अस्पताल जन्य फोहर व्यवस्थापन गर्न आफूहरु पनि लागिरहेको सरकारी प्रक्रिया र बजेटका कारण चाहेजस्तो हुन नसेकेको बताए । बैठकमा अरु सहभागीहरुले समेत आफ्ना बिचार व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *