पहिलो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन ७ र ८ बैशाखमा

काठमाडौँ, २३ फागुन । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल, इण्डियन अंग प्रत्यारोपण समाजको संयुक्त आयोजनामा आगामी ७ र ८ बैशाखका दिन राजधानीको होटल याक एण्ड यतिमा सम्मेलन हुने भएको हो ।

सम्मेलनमा अंग प्रत्यारोपणको क्षेत्रमा ख्याती कमाएका स्वदेश तथा विदेशका विशेषज्ञ चिकित्सक, विज्ञ प्रतिनिधि तथा सरोकारवाला गरी ४ सय बढीको सहभागिता हुने बताइएको छ । उक्त सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका अस्पताल प्रमुख र नर्सिङ प्रमुखको समेत सहभागिता रहने सम्मेलन आयोजक मुल समारोहसमितिका संयोजक एवं प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

देशभरका जिल्लास्तरका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र नर्सिङ निर्देशकहरुलाई सहभागी गरएर अंगदान, अंग प्रत्यारोपण र मस्तिष्क मृत्युसम्बन्धी छुट्टै कार्यशाला गर्ने तयारी केन्द्रको छ ।

‘ब्रिजिङ द ग्याप’ नारा दिइएको उक्त सम्मेलनमा प्रत्यारोपणका क्षेत्रमा भएका नयाँ नयाँ उपलव्धी, अनुभव, प्रविधिका विषयमा अन्तरक्रिया हुनेछ । ‘यसले अंगदान कार्यलाई सहज बनाउँछ । जनचेतना फैलाउन मद्धत गर्नेछ । अंगदानसम्वन्धी भ्रम हटाउँन मद्धत गर्दछ । भन्ने हाम्रो विश्वास छ,’ संयोजक डा. श्रेष्ठले भने ।

सम्मेलनमा नेपाल सहित, भारत सहित दक्षिण एशियाली देशका प्रतिनिधि बाहेक अमेरिका, बेलायत, जापान, सिंगापुर सहितका देशबाट समेत विज्ञहरुको सहभागीता हुने बताइएको छ ।

नेपालमा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण शुरु भएको हो । अहिलेसम्म एक हजार २ सय बढीको मिर्गौला प्रत्यारोपण भईसकेको छ । यस्तै गतवर्ष देखि नेपालमा कलेजोको समेत प्रत्यारोपण हुन थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *