दाङ : तुलसीपुरका १२ प्रतिशत बासिन्दामा हात्तीपाइले रोगको संक्रमण

लमही, १४ फागुन । तुलसीपुर उपमहानगरपालिकामा  हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताए।

तुलसीपुरमा एक लाख ६४ हजार २१८ जनसङ्ख्यामध्ये करीब २० हजारमा हात्तीपाइलेको संक्रमण देखिएको उनको भनाइ छ । यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको सङ्ख्या न्यूनीकरण हुननसकेको भन्दै नवौँ पटक दाङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो ।

दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ । सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ ।

“आठ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइयो”, उनले भने, “हात्तीपाइले रोग न्यूनीकरण हुन नसकेपछि नवौँ पटक औषधि खुवाउने तयारी भइरहेको छ ।”

तुलसीपुरमा ९५ स्वास्थ्यकर्मी

हात्तीपाइलेविरुद्धको औषधि खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार प्रत्येक वडामा पाँच-पाँच स्वास्थ्यकर्मी खटाइएको छ । सो कार्यका लागि रु ११ लाख २७ हजार बजेटको व्यवस्था गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *