क्यान्सररोगीलाई आवश्यक पर्ने झोला उत्पादन नहुँदा समस्या

140
Shares

नारायण अधिकारी

चितवन, ९ फागुन । मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि धेरै बिरामीलाई प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोेस्टोमी र युरोस्टोमी ब्याग) नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ ।

ती दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार यहाँ सम्पन्न भेलामा उनीहरुले स्वदेशमा झोला उत्पादन गर्न माग गरेका हुन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक एवं मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछानेका अनुसार एउटा झोला खरीद गर्न बिरामीले रु एक हजार ५०० हाराहारी तिर्नुपर्ने हुन्छ । अस्पतालले दाता खोजेर स्टोमा सेवा समाजमार्फत न्यून शुल्कमा दिँदै आएको भए पनि सधैँ सबैले पाउने अवस्था छैन ।

लामिछाने स्वदेशमै झोला उत्पादन गर्न सके बिरामीले सस्तो मूल्यमा सहजरूपमा पाउन सक्ने बताउँछन् । सबै बिरामीको अपेक्षा रहेको भन्दै उनले मूत्रथैलीको शल्यक्रिया गरेकामध्ये ३० प्रतिशत हाराहारीलाई र मलद्वारको शल्यक्रिया गरेकामध्ये २० प्रतिशतलाई यो झोला अनिवार्य हुने बताए । दिसापिसाबको प्राकृतिक बाटो परिवर्तन गरी कृत्रिमरूपमा दिसापिसाब त्याग गर्न झोला प्रयोग गरिन्छ ।

एउटा बिरामीलाई न्यूनतम सात दिनमा झोला फेर्नु पर्दछ । जटिल समस्या देखिएमा दैनिकजसो प्रयोग गर्नुपर्ने बाध्यता हुने गरेको छ । कोलोेस्टोमी र युरोस्टोमी झोला अहिले नेपालमा उत्पादन नहुँदा र समय–समयमा नपाउँदा बिरामीलाई समस्या पर्ने गरेको समाजका सचिव मीनबहादुर अछामेले बताए । उनले भने, “अहिले अस्पतालले वितरण गरिरहेको छ । तर अस्पतालमा नभएको समयमा बिरामीको शरीर गन्हाउने र ‘एलर्जी’ हुनेसम्मका समस्या देखा पर्दछ ।”

अस्पतालले अहिले एउटा झोलाको रु २० का दरले वितरण गर्दै आएको छ । अस्पतालमा नपाउँदा बिरामीले महँगोमा खरीद गर्नुपरेको भन्दै अछामेले सबैको पहलमा नेपालमै झोला उत्पादन गर्नुपर्ने बताए ।

झापाबाट झोला लिन क्यान्सर अस्पताल आइपुग्नुभएका ५९ वर्षीय डोरबहादुर खत्रीले सर्वसुलभरूपमा नपाउँदा लामो यात्रा गरेर अस्पतालमा आउन बाध्य भएको बताए । बाहिर किन्दा महँगो पर्ने भएकाले नियमितरूपमा आएर झोला लैजाने गरेको उनले बताए । यहीँ उत्पादन भए सबैतिर पाइने बताउँदै उनले नेपालमा उत्पादन नहुँदा बिरामीले दुःख पाएको गुनासो गरे ।

स्टोमा सेवा समाजका अध्यक्ष देवीलाल ढकालले राज्यले यस्ता बिरामीको सेवाका लागि झोला नेपालमै उत्पादन गर्नु आवश्यक रहेको बताए । अहिले यो झोला प्रयोग गर्ने ६७० रहेको बताउँदै उनले नेपालभर छरिएका बिरामीलाई भरतपुर आएर सेवा लिन असहज भएको बताए । दातृ संस्थाको भरमा झोला प्रयोग गर्नुपरेकामा दुःख व्यक्त गर्दै उनले भने, “कुनै समय झोला आउन ढिला भयो भने हामीलाई सङ्कट आइपर्छ । नेपालमै उत्पादन भएमा सहजरूपमा पाउन सकिन्थ्यो ।”

अहिले यो झोला प्रयोग गर्नेमा ५१७ मलद्वार र १५३ मूत्रनलीका बिरामी रहेका छन् । अस्टोमेट एशोसिएसन अमेरिकाले वार्षिक रु चार करोड बराबरको झोला सहयोग गर्दै आएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले यस्ता बिरामीको उपचारका लागि अस्पतालले नियमित बहिरङ्ग विभाग सञ्चालनमा ल्याउने बताए ।

आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई दाताले दिएको झोला प्रयोग गर्न दिएर सक्षमले खरीद गरिदिएमा सहज हुने उनको भनाई थियो । नेपालमा हुने क्यान्सर रोगमध्ये मलद्वारको क्यान्सर छैटौँमा पर्दछ भने पिसाब थैलीको सातौँमा पर्दछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *