चिकित्सा शिक्षा आयोगको व्यवस्थाप्रति स्वास्थ्य राज्यमन्त्री कै असन्तुष्ठी !
काठमाडौँ, २२ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले चिकित्सा शिक्षा आयोग गठन गर्ने व्यवस्थाप्रति असन्तुष्टी जनाएका छन् । उनले आयोग गठन र यसको भूमिकाका बारेमा नेपाल चिकित्सक संघले देखाएको मौनता आफैमा आश्चर्यजनक रहेको प्रतिक्रिया दिएका छन् ।
विश्व क्यान्सर दिवसको अवसरमा सोमबार नेपाल अर्वुदरोग निवारण संस्थाद्धारा आयोजित कार्यक्रममा उनले क्यान्सर रोग रोकथाममा सरकारले गरेको प्रयासको मात्रै जानकारी दिएनन् पछिल्लो समय संसदबाट पास भएको राष्टिय चिकित्सा शिक्षा विधेयक, त्यसमा भएको आयोग खोल्ने व्यवस्था र चिकित्सक संघको आन्दोलनको बारेमा खुलेर टिप्पणी गरे ।
उनले चिकित्सकहरुको पेशागत संस्था नेपाल चिकित्सक संघले पेशागत कम र राजनीतिक बढी मुद्धा उचालेको समेत आरोप लगाए ।
‘संसदबाट पास भएको चिकित्सा शिक्षा विधेयकले चिकित्सा शिक्षा आयोग गठन गर्ने कुरा भएको छ । यसले चिकित्सकहरुको मर्यादा कहाँ पुरयाउँछ ? यसको यो गठन गर्नु आवश्यक थियो ? यो राजनीतिक भर्तिकेन्द्र बन्दैन भनेर कसले भन्न सक्छ ? अनि यस तर्फ चिकित्सक संघको आन्दोलन केन्द्रीत हुनु पर्थेन ?’मञ्चमा रहेका संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठप्रति इन्गित गर्दै राज्यमन्त्री यादवले एक पछि अर्को प्रश्न तेस्र्याए । उनले डा गोविन्द केसीको अनशन र त्यसमा चिकित्सक संघले घोषणा गरेको आन्दोलनपनि पेशागत भन्दा बढी राजनीतिक हावी भएको संकेत गरे ।
त्यसअघि बोलेका संघका अध्यक्ष डा श्रेष्ठले बर्तमान सरकारको नेतृत्वप्रति तिब्र आलोचना गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्यमा गरेका राम्रा काम बर्तमान सरकारले हटाएको भन्दै असन्तुष्ठी पोखेका थिए ।
उनले चिकित्सक संघको आन्दोलनलाई बर्तमान सरकारले नजरअन्दाज गरेको समेत गुनासो गरेका थिए । राज्यमन्त्री यादवलाई उनले पूर्ववर्ती सरकारले घोषणा गरेका राहतका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था गर्न आग्रह गरेका थिए ।
सम्पर्क इमेल : [email protected]