चिकित्सक संघको बन्द आव्हानको अवज्ञा गर्ने नेकपा निकट चिकित्सकको घोषणा

काठमाडौँ, १७ माघ । नेपाल चिकित्सक संघ (एनएमए)ले गर्ने शुक्रबारको लागि घोषणा गरेको अस्पताल बन्दको कार्यक्रममा नेकपा निकट राष्ट्रिय चिकित्सक संघ (एनडीएन) र प्रगतिशील चिकित्सक संघ नेपालले समर्थन नगर्ने बताएको छ । केही बेर अघि सम्पन्न दुबै संगठनको संयुक्त बैठकले अस्पतालको सेवा भोलि पनि अन्य दिन जस्तै सुचारु गर्ने जनाएको छ ।

एनडीएनका अध्यक्ष डा सन्तोष पौडेल र प्रगतिशील चिकित्सक संघका कार्यवहाक अध्यक्ष डा माधव लम्सालले जारी गरेको संयुक्त विज्ञप्तीमा ‘एक जना अभियन्ताको जीवन रक्षार्थ भनेर नेपाल चिकित्सक संघले आवहान गरेको एजेण्डा विहिन आन्दोलन राजनीतिक उद्धेश्यले प्रेरीत भएको’ आरोप लगाएको छ ।

उसले विरोधका विभिन्न उपाय रहँदा रहँदै स्वास्थ्य जस्तो अति सम्वेदनशील क्षेत्रमा हलुका ढंगले बन्द हडताल गर्ने अप्रिय निर्णयले आम जनसमुदाय र चिकित्साबीच दुरी बढ्ने निश्चित रहेको र डा केसीको भावना र अभियानको मर्म विपरीत रहेको जनाएको छ ।

दुबै संगठनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय सरकारको दुबै सदनबाट पारित भएकोमा खुशी व्यक्त गरेको छ ।

नेपाल चिकित्सक संघले सांकेतिक विरोध भन्दै भोलि एक दिनका लागि सरकारी, निजी , गैरसरकारी तथा मेडिकल कलेजमा इमरजेन्सी बाहेक सबै सेवा बन्द हुने घोषणा गरेको छ । उसले डा केसीको जीवन रक्षाको लागि यी सबै घोषणा गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *