आफ्नो परिसरमा रिले अनशन नबस्न चिकित्सकलाई शिक्षण अस्पतालको अपिल
काठमाडौँ, १४ माघ । अस्पताल परिसरमा अनशन नगरी दिन त्रिवि शिक्षण अस्पतालले चिकित्सकहरुसंग आग्रह गरेको छ । २० दिन देखि अनशन बसेका डा गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै नेपाल चिकित्सक संघको आवहानमा आजैबाट त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनशन सुरु भएको छ ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाद्धारा आज जारी अपिलमा अस्पताल परिसरमा गरिने विरोध तथा रिले अनशनले आम सर्वसाधारणको स्वास्थ्य उपचारमा बाधा उत्पन्न गर्न सक्ने भन्दै त्यसो नगर्न भनिएको छ ।
‘हामीले विज्ञप्ती मार्फत सबै सरोकारवालाई जानकारी दिएका हौँ । यो हाम्रो आग्रह पनि हो । मान्ने नमान्ने अनशनमा बस्नेहरुको कुरा हो । उहाँहरु जत्तिको व्यक्तिलाई यसरी सम्झाउनै पनि पर्ने होइन खासमा,’ प्राडा खड्गाले भने ।
उनले अस्पताल परिसरमा भएको रिले अनसनको बारेमा उपल्लो निकायलाई समेत जानकारी भएको भन्दै थप कदम चाल्नपरे उतैबाट हुनसक्ने संकेत गरे ।
‘अस्पताल जस्तो सम्वेदनशील क्षेत्रलाई हडतालको अखडा बनाइनु हुँदैन । हामीले चिकित्सक संघलाई यो कुरा भनेका पनि छौँ । उहाँहरुले सोच्नु भएको होला,’ प्राडा खड्गाले भने ।
डा केसीले परीक्षण गर्न मानेनन्
निर्देशक प्राडा खड्गाले अनशनरत डा केसीले पछिल्लो पटक औषधि लिन र परीक्षण गर्न नमानेको बताए ।
‘उहाँले कहिले मान्नु हुन्छ कहिले मान्नु हुन्न । आज फेरी मान्नु भएको छैन भन्ने जानकारी आएको छ,’प्राडा खड्गाले भने । उनले औषधि लिन नमान्दा डा केसीको स्वास्थ्य अवस्था आज केही कमजोर भएको चिकित्सक टोलीले आफूलाई रिपोर्ट गरेको बताए ।
सम्पर्क इमेल : [email protected]