नेपालमै पहिलो पटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुँदै
काठमाडौँ, १३ मंसिर । नेपालमै पहिलो पटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुने भएको छ । हामीकहाँ अहिलेसम्म औषधिको गुणस्तर क्लिनिकल (बायोएस्से)प्रविधिबाट मात्रै हुने गरेको छ ।
औषधि परीक्षणका लागि आवश्यक तालिम, पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सरकारले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)मा बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्ने भएको छ । त्यस सम्वन्धमा विहीबार औषधि व्यवस्था विभाग र आईओएमबीच सम्झौँता सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।
डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगञ्ज चिकित्सा क्याम्पसले सञ्चालन गर्ने उक्त सेन्टर स्थापनाका लागि विभागका महानिर्देशक नारायण ढकाल र आइओएमका डीन प्राडा जगदीश अग्रवालले सम्झौँता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौँता अनुसार विभागले सेन्टरको पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिम सञ्चालनका लागि ५ करोड रुपैयाँ आइओएमलाई उपलव्ध गराउनेछ ।
विभागका महानिर्देशक ढकालले बार्षिक कार्यक्रम अन्तरगर्त बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्ने सम्झौँता भएको बताए । उनले सेन्टर स्थापनाले औषधिको गुणस्तर तथा प्रभावकारीता परीक्षणमा ठूलो सहयोग गर्ने दावी गरे ।
औषधि विज्ञ एवं डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगञ्ज चिकित्सा क्याम्पसका सहप्राध्यापक डा प्रदीप ज्ञवालीले अहिलेसम्म बायोएस्से प्रविधिबाट परीक्षण गरिने भएको र अब भने स्वस्थ मासिनमै गुणस्तर परीक्षण गर्ने तयारी भएको बताए । ‘परीक्षणका लागि स्वस्थ व्यक्तिलाई स्वयंसेवीका रुपमा अर्थात हेल्दी भोलेन्टियर तयार गछौँ र जेनरिक औषधि नेममा औषधिहरुको परीक्षण गर्दछौँ । यसले औषधिको गुणस्तर र प्रभावकारिता थाह हुन्छ’ उनले भने ।
विभागका महानिर्देशक ढकालले यो परीक्षणबाट औषधि रगतमा कति छिटो घुल्छ ? कति छिटो काम गर्न थाल्छ भन्ने थाह हुने बताए ।
सेन्टर सञ्चालनका लागि क्याम्पस प्रमुख प्राडा प्रतावनारायण प्रसादको संयोजकत्वमा बायोइक्युव्यालेन्स कमिटि गठन गरिएको छ जसको सदस्यसचिव फर्माकोलोजी डिपार्टमेन्टका प्रमुख प्राडा संगरत्न बज्राचार्य रहेका छन् ।
सम्पर्क इमेल : [email protected]