‘भावनामा बहकिएर हुँदैन, जुम्लामा एमबीबीएस कार्यक्रम चल्दैन’

प्यारामेडिक्सका विभिन्न कार्यक्रम शुरु गरेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब एमबीबीएस कक्षा समेत सञ्चालन हुने खबर मिडियाहरुमा आउन थालेका छन् । सरकारले पनि डा. गोविन्द केसीसंग गरेको सम्झौँता अनुसार प्रतिष्ठानमा एमबीबीएस तहको पढाई सञ्चालनमा ल्याउन ‘होमवर्क’ गरेको बताइएको छ । यति नै बेला डा. केसीले सम्झौँता कार्यान्वयनको माग राख्दै अर्को अनसनको चेतावनी दिइसक्नु भएको छ ।

तर, मेरो बिचारमा अरु कुरा जे जे भएपनि जुम्लामा मेडिकल कलेज चल्न सक्दैन । यदि चलाईयो भने पनि त्यो धेरै टिक्दैन र टिकाईयो भने पनि त्यो प्रभावकारी बन्दैन । यसो भन्नुको केही कारण पनि छन् ।

किन सम्भव हुँदैन जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न ?

मेडिकल कलेज सञ्चालन गर्ने केही प्रक्रिया छन् । यो अस्पताल सञ्चालन गरे जस्तो होइन । कलेज सञ्चालन गर्न मुख्य रुपमा विरामीको फ्लो बढी हुनुपर्छ । अनि फ्याकल्टीको व्यवस्था ।

भौगोलिक तथा बाताबरणीय अवस्थाका कारण जुम्लामा त्यो दुईवटै कुरा पुरयाउन निकै गाह्रो छ । सुगम क्षेत्रमा खोलिएका मेडिकल कलेजमा त फ्याकल्टी नपुगेको अवस्था छ भने त्यहाँ कसरी हुन्छ ? वेसिक साइन्स कसरी मिलाउने ? प्रोफेसर कसरी पुरयाउने ? कसरी टिकाउने ?

ओपीडीमा आउने केही विरामीले मेडिकल कलेज सञ्चालन हुन सक्दैन । भर्ना हुने १५ २० जना विरामीको संख्याले अध्ययन् गर्ने विरामीका लागि प्रयाप्त मानिदैन । अनि कतिजना विद्यार्थी पढाउने ? हाम्रो पालामा एउटा विद्यार्थीले १० जना विरामी हेर्नुपर्छ भनिएको थियो ।

जुम्लामा पढ्न जाने विद्यार्थीको भागमा कति विरामी पर्लान ? विरामी नभएपछि कस्तो गुणस्तरको डाक्टर उत्पादन होलान ? त्यसैले मैले भन्छु जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न हुँदैन । किनभने त्यहाँबाट उत्पादन हुने डाक्टरको क्वालिटी आउँदैन । तितो भएपनि यो बास्तविकता हो ।

अर्को कुरा डा. केसीसंग स्वरमा स्वर मिलाएर जुम्लामा मेडिकल कलेज सञ्चालन गर्नैपर्छ भन्ने प्राडाहरु अधिकांश शहर केन्द्रीत हुन् । उनीहरुलाई त्यो स्थानमा गएर बस्न पठाउँ, ती जाँदैनन् । अधिकांश जाँदैनन् । जानै परेपनि अर्को दिन देखि सरुवाको लागि पावर लगाउन केन्द्रीत हुन्छन् ।

किनभने त्यहाँ ठूलो बजार छैन । जनसंख्या छैन । विरामी थोरै हुन्छन् । दुर्गम हिमाली जिल्ला हो । माइनसमा तापक्रम छ । अनि किन जान्छन् उनीहरु ?

काठमाडौमा रहेका बरिष्ठहरुलाई पोखरा सरुवा गरियो भने जान मान्दैनन् बरु विदामा बस्छन्, बुटवल जान मान्दैनन् बरु जागिर नै छाडछन्, पाल्पा जान मान्दैनन् । अनि त्यहाँ को जान्छ ? कसले कार्यक्रम सञ्चालन गर्ने ?

विरामीका कुरा गर्दा पनि मुगु, हुम्ला लगायतका अरु जिल्लाका विरामी आउँछन भनिएको छ । तर भौगोलिक र बाताबरणीय रुपमा अति नै विकट भएका ती जिल्लाका विरामीहरु समय खर्चेर जुम्लामा आउनै गाह्रो छ । बरु हवाई सेवा मार्फत त्यहाँका विरामी नेपालगञ्ज सुर्खेत झर्लान, हेलिकप्टर चार्टर गरी काठमाडौ नै हुइकेलान, जुम्लामा जान्छन् भन्ने छैन । त्यसैले त्यहाँ एमबीबीएस कार्यक्रम सञ्चालन गर्न कठिनाई छ । जब विरामीको चाप कम हुन्छ भने विद्यार्थीले कसरी सिक्छन् ?

विकल्प सुर्खेत हुनसक्छ
हरेक प्रदेशमा मेडिकल कलेज खोल्ने भन्ने सरकारको नीति बनेको छ । त्यस अनुसार कर्णालीको जुम्लामा कार्यक्रम सञ्चालन गर्ने भन्ने हो । डा. केसीको अघिल्लो अनसनले सकेसम्म छिटो एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दवाव सिर्जना गरेको थियो । सरकारले त्यहि अनुसार नै सम्झौँता पनि गरेको छ ।

तर, भावना र सस्तो लोकप्रियतामा बगेर हुँदैन । बास्तविकता निहाल्नुपर्छ । त्यसैले मेरो सुझाव जुम्लामा होइन मेडिकल कलेज सुर्खेतमा खोल्न सकिन्छ । बरु जुम्लामा स्याटेलाइट हस्पिटल खोल्न सम्भव छ । सुर्खेतको मेडिकल कलेजले हेर्ने गरी त्यहाँ डाक्टर पठाउन सकिन्छ । जुम्लामा ५० बेडको अस्पताल सञ्चालन गर्न सकिन्छ । प्यारामेडिक्स कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

डा.  केसी मेरो गुरु हो । मलाई आइओएममा एचए पढाउनु भयो,  एमबीबीएसमा पढाउनु भयो । पछि हामी कति ठाँउमा शिविरमा समेत सहभागी समेत भएका छौँ । त्यसैले मेरो लागि उहाँ आदरणीय व्यक्ति पनि हो ।तर ‘इस्यु’मा  कुरा गर्नुपर्छ, भावनाले कुरा गरेर हुँदैन । 

दुर्गमका जनताले सर्भसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ । त्यसमा दुई मत हुँनै सक्दैन तर दुर्गममा मेडिकल कलेज सञ्चालन गर्छु भन्नु मुर्खता हो । त्यहाँ मेडिकल कलेज होइन । साधनस्रोत सम्पन्न अस्पताल सञ्चालन गर्नुपर्छ र सेवा उपलव्ध गराउनुपर्छ ।

अन्त्यमा …….महाराजगञ्ज क्याम्पसमा किन नबढाएको सिट ?

बर्षौ अघि हामीले एमबीबीएस पढदा महाराजगञ्ज क्याम्पसमा एमबीबीएसको ३० सिट थियो । अहिले त्यो बढेर ७६ सिट भएको रहेछ । त्यसैमा स्वदेश विदेशका विद्यार्थी बाढिने हो क्यारे । यति धेरै विरामी छ । साधनस्रोत, जनशक्ति पर्याप्त छ । तर किन बढाईदैन सिट ?

महाराजगञ्ज क्याम्पसमा १५० सिट सञ्चालन गर्न किन अप्टेरो ? जहाँ सम्भव छ त्यहाँ नगर्ने, जहाँ सम्भव छैन त्यहाँ गर्नुपर्छ भन्ने गर्नु मुर्खता सिवाय केही होइन ।

# डा. श्रेष्ठ हेल्पिङ हेन्डस् सामुदायिक अस्पताल चावहिलका कार्यकारी अध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘भावनामा बहकिएर हुँदैन, जुम्लामा एमबीबीएस कार्यक्रम चल्दैन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *