स्वदेशी उद्योगले गुणस्तर र उपलव्धतामा ग्यारेन्टी गरे औषधि आयात रोकिन्छ : उपप्रधानमन्त्री यादव
काठमाडौँ, ६ मंसिर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वदेशी औषधि उत्पादकलाई आफ्ना उत्पादनका गुणस्तर, उपलव्धता र वितरणमा पहिले नै ‘ग्यारेन्टी’ गर्न आग्रह गरेका छन् । उनले कुन कुन औषधिमा नेपाल आत्मनिर्भर छ भन्ने विवरण समेत उपलव्ध गराउन भनेका छन् ।
औषधि व्यवस्था विभागको बार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्ने क्रममा मन्त्री यादवले स्वदेशी औषधिलाई प्रोत्साहन गर्ने सरकारको नीति नै रहेको भन्दै विदेशी औषधि निर्यातमा रोक लगाउनुपूर्व स्वदेशी उद्योगले आफ्नो उत्पादनको गुणस्तर, उपलव्धता र वितरणमा ग्यारेन्टी गर्नुपर्ने बताएका हुन् ।
मन्त्री यादव बोल्नु अघि नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भारत बंगलादेशको उदाहरण दिदै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । ‘उनले नेपालमै प्रयाप्त भएका औषधिहरु किन बाहिरबाट आयात गर्ने ?’ भन्दै उनले स्वदेशी उद्योगको प्रवर्धन र प्रोत्साहनका लागि आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउनुपर्ने बताएका थिए ।
मन्त्री यादवले औषधि अरु बस्तुको विषय जस्तो नभएको भन्दै गुणस्तर र उपलव्धतामा पहिले ग्यारेन्टी खोजेको बताएका हुन् । ‘बाहिरबाट आउने औषधि जत्तिकै वा त्यो भन्दा झन गुणस्तर कायम गर्न सक्नुहुन्छ भने, औषधिको अभाव हटाउन सक्नुहुन्छ । उपलव्धता र वितरणमा कुनै समस्या हुँदैन भने हामी किन विदेशबाट औषधि खरीद गर्छौ । निश्चय नै हामी स्वदेशी उद्योगलाई नै रोज्दछौँ । त्यसैले पहिले त्यो ग्यारेन्टी गरौँ । विस्तारै औषधि आयातलाई हटाउँदै जाउँला’ यादवले भने ।
कार्यक्रममा औषधि आयातकर्ता संघका उपाध्यक्ष शम्भुकुमार कार्कीृले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नाममा औषधि प्रतिवन्ध लगाउन नपाइने बताए । ‘स्वदेशी औषधिलाई अनुदान दिनुस, गुणस्तर बनाउन सहयोग गर्नुहोस र विदेशी औषधिलाई प्रतिस्थापन गर्ने बाताबरण सिर्जना गर्नुहोस तर प्रतिवन्ध लगाउन पाइदैन,’ उनले भने ।
मन्त्रीसंग आफ्ना माग र गुनासा पोख्ने क्रममा नेपाल औषधि व्यावसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले अस्पतालले खोलेका फार्मेसी र बाहिरका निजी फार्मेसीबीचमा रहेका मूल्यका असमानताले पारेका समस्याका बारेमा गुनासो पोखे ।
उनले भने, ‘कि त अस्पतालका फार्मेसीलाई दिने रेटमै निजी फार्मेसीलाई पनि औषधि उपलव्ध गराउने व्यवस्था हुनुपरयो । कि त अस्पताल भित्र र बाहिरका फार्मेसीमा वितरण हुने औषधिमा प्याकेट चेन्ज गर्नुपरयो, अस्पताल भित्रका लागि मात्रै भनेर लेखिनुपरयो । नत्र फरक फरक मूल्यले गाह्रो भयो ।’ श्रेष्ठको गुनासोको बारेमा भने मन्त्री यादवले केही बोलेनन् ।
गोष्ठीमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागको संरचना, जनशक्ति र समस्याका बारेमा जानकारी गराएका थिए । बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले एक बर्षमा गरेका मुख्य मुख्य कामका बारेमा प्रस्तुतिकरण दिएका थिए ।
कार्यक्रममा विभागका शाखा कार्यालयहरु नेपालगञ्ज, बीरगञ्ज, विराटनगर, र राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधिहरुले आफ्ना प्रस्तुति राखेका थिए ।
सम्पर्क इमेल : [email protected]
नेपाली औषधिको गुणस्तरमा औला ठड्याउने प्रसस्त ठाउँहरु छन् ….i wouldn’t recommend Nepalese brand drugs for myself if required