घुँडा सम्वन्धी समस्या पहिचान गर्न मेडिसिटीले देशव्यापी स्क्रिनिङ टुर शुरु गर्दै

284
Shares

काठमाडौँ, २७ कात्तिक । घुँडा सम्वन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि नेपाल मेडिसिटी अस्पतालले देशब्यापी बृहद स्क्रिनिङ्ग टुर कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार (भोलि)बाट शुरु हुने दुई महिने उक्त टुर देशमा विभिन्न ९ वटा शहरमा पुग्नेछ ।

अस्पतालका अनुसार बृहत स्क्रिनिङ्ग टुर कार्यक्रमको शुभारम्भ २८ कात्तिक (भोलि)बाट हुनेछ । सो दिन हेटौडाको चुरे हिल हस्पिटलमा निशुल्क परामर्श तथा परीक्षण हुनेछ । त्यस लगत्तै टोली २९ कात्तिकमा बीरगञ्ज पुग्नेछ ।

बीरगञ्ज हेल्थ केयर हस्पिटलमा विहीबार परीक्षण तथा परामर्शको कार्यक्रम तय भएको छ । यस्तै टोलीले २८ मंसिरमा जनकपुरको जानकी मेडिकल कलेज, १ पुसमा धरानको मञ्जुश्री पोलिक्लिनिक, २ पुसमा दमकको लाइफलाइन हस्पिटलमा गई निशुल्क परीक्षण तथा परामर्श गर्नेछ ।

पुर्वको शिविर पछि टोलीले १२ पुसमा बुटवलको लुम्बिनी सिटी हस्पिटल, १४ पुसमा पोखराको विभुती हस्पिटल, २४ पुसमा धनगडीको कैलाली हस्पिट र २६ पुसमा टोली नेपालगञ्ज फर्केर कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा परीक्षण तथा परामर्शको शिविर सञ्चालन गर्नेछ ।

अस्पतालले यो कार्यक्रमले घुँडा सम्बन्धि समस्याका कारण हिडडुल गर्न नसक्ने र गुणस्तरीय जीवनयापनबाट विमुख भएकाहरुलाई सहयोग पुग्ने दावी गरेको छ । आफ्नै घरआगनमा समस्या पहिचान र विशेषज्ञ चिकित्सकबाट उपचार समेत हुने भएकोले विरामीहरुले यस कार्यक्रमबाट लाभान्वित उसको धारणा छ ।

काठमाडौमा केही महिना अघि गरिएको यसप्रकारको शिविरबाट करिब ५ सय जना विरामीहरुले निशुल्क परामर्श तथा परीक्षण गरी ५० जनाको घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरिएको थियो । सोही कार्यक्रमलाई यसपटक उपत्यका बाहिर विस्तार गरिएको हो ।

जोर्नी प्रत्यारोपण गर्दा जोर्नीको बिग्रेको भागलाई निकालेर त्यसको ठाँउमा कृत्रिम जोर्नी राखिन्छ जुन धातु र प्लाष्टिकजन्य पदार्थबाट बनेको हुन्छ । यस उपचारमा मेडिसिटी अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. शिशिर लाखे, डा. राज राणा लगायतका टोली संलग्न रहने बताइएको छ ।

यसैबीच मेडिसिटीले घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथरोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी सम्बन्धि समस्या हुने र उनीहरुको जोर्नी प्रत्यारोपण सम्मको उपचारमा सहुलियत दरको प्रत्यारोपण प्याकेज समेत सार्वजनिक गरेको छ ।

उक्त प्याकेजमा ३ लाख ८० हजार रुपैयामा शल्यक्रिया, युएस एफडिए इम्प्लाण्ट, औषधि र सम्पूर्ण उपचार सामाग्री, ७ दिनको सिंगल क्याबिन, आई.सि.यु., फिजियाथेरापी लगायत सेवाहरुलाई एकै प्याकेजमा उपलब्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *