बालबालिकामा देखिने निमोनिया के हो ? कसरी बच्ने ?

डा. कृष्णप्रसाद पौडेल, बरिष्ठ बालरोग विशेषज्ञ

निमोनिया भन्नाले फोक्सोको तन्तुमा हुने सुजन वा संक्रमण भन्ने बुझिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजन अनुसार हाम्रो स्वर यन्त्र अथवा ल्यारिंक्स भन्दा माथिको भागलाई माथिल्लो स्वास नली र त्यो भन्दा तलको भागलाई तल्लो स्वास नली भनिन्छ ।

माथिल्लो स्वास नलीको संक्रमणहरुमा रुघा वा राइनिटिसस, पिनास वा साइनोसाइटिस, घाटी दुख्ने फ्यारिन्जाईटिस पर्दछन । तल्लो नलीको संक्रमणमा इपिग्लोटाइटिस, ल्यारिन्जाईटिस, ट्राकाईटिस अनि ब्रोंन्काइटिस पर्दछन् । यी सबै स्वासप्रस्वास प्रणाली अन्तरगतको नली वा ट्रयाकटका संक्रमण हुन् । भने फोक्सोमा वा फोक्सोको तन्तुमा हुने संक्रमणलाई निमोनिया भनिन्छ ।

बाल बालिकालाई मृत्युको मुखमा पुर्याउने पाँच प्रमुख कारक रोगहरुमा निमोनिया अग्र स्थानमा पर्दछ । यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता विकासशील देशहरुमा अहिले पनि उच्च छ ।

विकसित मुलुकहरुमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुना बढी रहन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाका कारण सन् २०१५ मा मात्रै संसारभर पाँच बर्ष मुनिका ९ लाख २० हजार १३६ जना बालबालिकाको ज्यान गएको थियो । र सोही उमेर समूहको कुल मृत्युमध्ये १६ प्रतिशत निमोनियाको कारण भएको थियो ।

कसरी लाग्छ निमोनिया ?141108182422_pneumonia_624x351_sciencephotolibrary

निमोनिया धेरै जसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगसहरुले गराउदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ । जस्तो कि समुदायमा हुने निमोनियामा ३ हप्ता को उमेर देखि ४ बर्षको उमेर सम्मका बालबालिकाहरुमा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरीयाको संक्रमण बढी हुन्छ ।

त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया र क्लामाइडीया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकस ले निमोनिया गराउदछन ।

एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी, साल्मोनेला, ई कोलाई तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउदछन । हेमोफिलसको खोप नियमित खोपमा समाबेश भए पछि यसबाट हुने संक्रमणमा ज्यादै कमि आएको छ ।

लक्षणहरु :
भाइरस वा ब्याक्टेरियाले हुने निमोनिया हुनु भन्दा केहि समय अगाडी देखि माथिल्लो प्रणालीको संक्रमण देखिन्छ । मुख्यत रुघा खोकी ज्वोरो आउने सास फेर्न गारो हुने छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन ।

सामान्यतया ब्याक्टेरियाले गर्दा हुने निमोनिया मा भाइरसले गराउने निमोनियामा भन्दा बढी ज्वोरो आउने वा काम ज्वोरो आउने तथा खोकी र सास फेर्न गाह्रो हुने वा छाति दुख्ने बढी हुन्छ । कहिले काहिँ पेट मात्र दुखेर पनि बच्चाहरु अस्पताल पुग्छन ।निमोनिया भएका बिरामीहरुलाई डाक्टरले जाँच्दा छातीमा विभिन्न प्रकारका आवाजहरु सुन्न सक्छन जसले गर्दा निमोनिया पत्ता लगाउन सजिलो हुन्छ । आवश्यक ठानेमा एक्सरे वा अन्य टेस्टहरु गर्न पर्न सक्छ ।

जटिलताहरु :

बेलैमा राम्रो उपचार पाउन सकिएन वा रोग पत्ता लागेन भने यस्ता बिरामीको फोक्सोमा पिप पर्न वा अब्सेस हुनसक्छ । छातीमा पिप जम्मा भएर इम्पईमा भन्ने अवस्था हुन सक्छ भने कैले काहिँ हावा चुहेर निमोथोरक्स हुन सक्छ ।मुटु फेल हुने वा संक्रमण अरु अंगहरुमा फैलिन सक्छ । साथै रगतमा संक्रमण फैलदा ज्यान सम्म जाने जोखिम रहन्छ ।

उपचार :

बच्चाको उमेर वा अन्य अवस्था र लक्षण अनुसार विभिन्न एन्टीबायोटिक्सहरु मुखबाट खाएर वा सुईको मध्यमद्वारा दिएर निमोनियाको उपचार गर्न सकिन्छ । डव्लुएचओका अनुसार सन् २०१५ मा मात्रै निमोनियाको उपचारका लागि ६६ वटा देशमा १०९ मिलियन डलर अर्थात करीब १२ अर्व नेपाली रुपैयाँको एन्टीबायोटिक प्रयोग भएको थियो ।

रोकथाम :

बालबालिकाहरुलाई आमाको दुध राम्ररी खुवाएर उनीहरुको रोगसंग लडने क्षमताको राम्ररी विकास हुन्छ भने समुचित पोषण अनि सरसफाईले पनि रोग लाग्नबाट बचाउछ ।बायु प्रदूषण बिशेष गरि घर भित्रको बायु प्रदुषण धुुम्रपान नगरेर पनि निमोनियाबाट बचाउन सकिन्छ  ।

खोपहरु जस्तै नियमित वा सरकारले निशुल्क उपलब्ध गराएका खोपहरु पूर्ण रुपले लगाउने गर्नाले पनि विभिन्न संक्रमणबाट बचाउन सकिन्छ । गतबर्ष देखि नेपाल सरकारले पनि राष्ट्रिय खोप कार्यक्रममा निमोनिया बिरुद्धको खोप पिसिभि १० सुरु गरिसकेको छ ।अन्य खोपहरु जस्तै फ्लु बिरुद्धका खोपहरु जसलाई किन्नुपर्छ लगाउन सकिन्छ । अबस्थ्या अनुसार बचाबटका लागि एन्टीबयोटिक्स जस्तै एचआइभी भएको अवस्थामा दिईने एन्टीवायोटिक्स दिएर पनि निमोनियाबाट बचाउन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *