‘ब्रेन डेथ’ भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण

काठमाडौँ, २० कात्तिक । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु ( ब्रेन डेथ ) भएका व्यक्तिबाट मर्गौला झिकेर दुई जना व्यक्तिमा सफल रुपमा प्रत्यारोपण गरेको छ । ब्रेन डेथ भएको व्यक्तिबाट झिकेर प्रत्यारोपण गरिएको नेपालमै यो दोस्रो पटक हो ।

डेढ वर्ष अघि अर्थात २८ बैशाख २०७४ मा सोही केन्द्रले नेपालमै पहिलो पटक ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला झिकेर मिर्गौला फेल भएका अर्का दुई व्यक्तिमा सफल प्रत्यारोपण गरेको थियो ।

ललितपुरमा रहेको गणेशमानसिंह अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचाररत सर्लाहीका ७२ बर्षिय टेकबहादुर योन्जनको गत १२ कात्तिकमा मस्तिष्क मृत्यु भएपछि परिवारको इच्छा अनुसार मिर्गौला झिकिएको हो । उनको मिर्गौला पोखरा र तनहुँका दुई जना मिर्गौला फेल भएका बिरामीमा प्रत्यारोपण गरिएको थियो ।

‘एक जना बीर अस्पतालमा उपचाररत हुन् । अर्का बिरामी हामीकहाँ नै उपचाररत हुनुहुन्थ्यो । एक जना ५६ बर्षका र अर्का ३० वर्षका पुरुषहरु हुन्,’ मिर्गौला लिने व्यक्तिको गोप्यतामा ध्यानदिदै प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले भने, ‘अहिले उहाँहरुको अवस्था एकदमै सुधार हुँदै गएको छ । केही दिनमै उहाँहरुलाई डिस्चार्ज गरिनेछ ।’

ब्रेनडेथ भएका व्यक्तिबाट भएको प्रत्यारोपणबारे जानकारी आयोजित कार्यक्रममा मृत व्यक्तिबाट मुटु झिकेर प्रत्यारोपण गर्न सफल विश्वकै पहिलो चिकित्सकको उपमा पाएका डा. कुमुद धिताल समेत सहभागी थिए । उनले ब्रेनडेथ भएका व्यक्तिको परिवार र ब्रेनडेथ भएको जानकारी गराई अंगप्रत्यारोपणका लागि सहयोगी भुमिका खेलेका गणेशमानसिंह अस्पतालका पदाधिकारीलाई सम्मानप्रत्र प्रदान गरेका थिए ।

यसअघि बोल्दै मस्तिष्क मृत्यु भएका टेकबहादुरका छोरा मकर योन्जनले बाबुको मृत शरीरबाट अंग झिकेर दान गरी आफ्नो परिवारले पुन्य कमाउन चाहेको बताए ।

‘हामीले सुन्यौँ यस्तो मृत्युभएको व्यक्तिबाट अंग झिक्न मिल्छ र त्यो अंगले अरु व्यक्तिलाई बचाउन सक्छ भन्ने । त्यसपछि हामी परिवार सल्लाह गरयौँ र अंगदान गर्ने निर्णय गर्यौँ,’ मकरले भने ।

उनले खरानी भएर वा कुहिएर जाने शरीर कसैका लागि काम लाग्छन भने किन त्यसो नगर्ने भन्ने विचारले नै आफूहरु अभिप्रेरित भएको बताए । उनले आफूहरुको यो कार्यले नेपालको ब्रेनडेथ पछिको अंगप्रत्यारोपण अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

प्रत्यारोपणका लागि डा पुकारको नेतृत्वमा डा कल्पना श्रेष्ठ, प्राडा राकेशकुमार बर्मा, डा मोहन देवभण्डारी, डा विजय कटुवाल, डा दिपेश श्रेष्ठ, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा किरणजंग कुवर, डा शोभित थापा, डा मेघा श्रेष्ठ, डा अमृत केसी, डा लक्ष्मीप्रसाद त्वयना, ओटि इन्चार्ज डा सिजन गुरुङ सहित ओटी नर्स र अन्य प्राविधिकहरु खटिएका थिए ।

पत्रकारसम्मेलनमा बोल्दै प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले ढिलै भएपनि बे्रन डेथ भएका व्यक्तिबाट अंग झिकेर प्रत्यारोपण गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले अहिले पनि जनचेतनाको कमीका कारण मस्तिष्क मृत्यु भएका धेरैका परिवारले अंग दान दिन हिचकिचाएको भन्दै भावि दिनमा यो समस्या सुध्रिने बताए ।

उनले भने, ‘एक जना व्यक्तिबाट २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्याकक्रियाज, १ सानो आन्द्रा लगायतको अंग झिकेर ८ जना व्यक्ति बचाउन सकिन्छ । र कसैको डढेर जाने र खरानी भएर जाने शरीरले कसैलाई बचाउनु पाउनुनै सबैभन्दा पुन्य काम हो ।’

केन्द्रमा अहिले करीब ५ सय जतिले ब्रेनडेथ भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न पाउ भनेर नाम दर्ता गराएका छन् । तर प्रत्यारोपणकै लागि नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराई बसेकाको संख्या भने २५ को हाराहारिमा रहेको बताइएको छ ।ब्रेन डेथ भएकाबाट अंग लिनका लागि तीन तीन महिनामा प्रत्यारोपणका लागि फिट छ कि छैन भनेर परीक्षण गराई बसेको हुनुपर्दछ । 

यो पनि पढ्नुहोस्……………….

‘ब्रेनडेथ’ भएका व्यक्तिबाट झिकेको मिर्गौलाले यी दुईलाई दियो नयाँ जीवन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *