औषधिमा ‘जेनरिक’ र ‘ब्राण्ड नेम’को विवाद किन ?

1.9k
Shares
  • प्रदीप लम्साल
प्रदीप लम्साल, बरिष्ठ फार्मासिस्ट

कुनै पनि औषधि अथवा कुनैपनि ‘सब्सटान्स’ त्यसमा जुन रासायनिक नाम दिइन्छ, त्यसलाई ‘जेनरिक नेम’ भनिन्छ । तर त्यहि रासायनिक नामलाई कुनै पनि कम्पनीले आफ्नो नाम दिएर बजार पठाउने काम गर्‍यो भने त्यसलाई ‘ब्राण्ड नेम’ भनिन्छ ।

साधारण बुझ्ने भाषामा भन्दा, चामल – ‘जेनरिक नेम’ भयो । तर हुलास कम्पनीले उत्पादन गरी बजार पठाउने चामल अर्थात ‘हुलासको चामल’  ब्राण्ड नेम भयो । अर्थात चामल त उही हो तर कम्पनीसंग जोडिएको हुँदा नाम चाही फरक पर्न गयो । जेनरिक नेम र ब्राण्ड नेम भित्रको फरक यत्ति बुझे काफी हुन्छ ।

अहिलेको विवाद के हो ?
अहिलेको विवाद विरामीलाई औषधि सिफारिस गर्दा जेनरिक नेममा गर्ने कि ब्राण्ड नेममा गर्ने भन्ने हो । आम सर्वसाधारण मात्रै होइन औषधि क्षेत्र र आम चिकित्सक क्षेत्र समेत यो विषयमा अहिले विभाजित भएको अवस्था छ । कसैले जेनरिक नेम आवश्यक छ भन्ने गरेका छन्, कोही ब्राण्ड नेम नै नभई हुँदैन भन्ने छन् । त्यसमा उनीहरुको आ आफ्नै तर्क पनि छ ।

कतिपयले जेनरिक नेम लागू हुन नसक्ने तर्क गरेका छन्, कसैले जेनरिक नेमका औषधिहरु कम गुणस्तरीय हुन्छन् भन्ने तर्क प्रस्तुत गरेका छन् । कतिपय जेनरिक नेममा औषधि आउँदा उपभोक्तलाई सस्तो पर्ने बताएका छन् । कतिपयले जेनरिक लेख्दिदैमा सस्तो पर्छ भनेर को ज्ञारेन्टी गर्छ भनेर प्रश्न तेरस्याएका छन् ।

यी प्रश्न, विवाद, शंका र उपशंका आउनु स्वभाविक नै हो । किनकी अहिलेसम्मको हाम्रो प्राक्टिस जेनरिक नेम होइन ब्राण्ड नेममा भइरहेको छ । निरन्तर चलिरहेको एउटा प्रक्रियालाई परिवर्तन गरी अर्को प्रक्रियामा जानु स्वभावैले अनौठो हुने गर्छ पनि ।

विकसित मुलुकमा ब्राण्ड भनेको जसले उत्पादन गरयो, उसले निश्चित बर्षसम्म सो ब्राण्ड चलाउन पाउँछ भन्ने मान्यता छ । हामी अर्थात अल्पविकसित मुलुकले विकसित मुलुकको सिको गरयौँ र अहिलेसम्म त्यहि चलिआएको छ ।

के जेनरिक औषधि सुपथ मूल्यमा पाइन्छ त ?
के बुझ्नु पर्‍यो  भने कम्पनीहरुले ब्राण्डमा जाँदा मार्केटिङ प्रमोशनका लागि जति खर्च गरेका छन् त्यो खर्च जेनरिकमा जाँदा गर्नु पर्दैन । अहिले जुनसुकै ब्राण्डको औषधि बजारमा लैजाँदा त्यसको प्रमोशनल खर्च निकै बढी हुन आउँछ ।

औषधि पसलको विक्रेता देखि स्टकिष्टसम्म, औषधि व्यापारीदेखि औषधि सिफारिस गर्ने अधिकांश चिकित्सकसम्मका लागि कम्पनीले प्याकेज डिल गर्नुपर्ने हुन्छ । यो सबै खर्च कम्पनीले औषधि बेचेरै उठाउने हो । त्यसैले यी सबै डिल बोनसका कुरामा लाग्ने खर्च विरामीबाटै उठ्ने हो । तर जेनेरिकमा प्रेस्काइव गरियो भने यी सबै खर्चहरु घटछ् । खर्च घटेपछि औषधिको मूल्य स्वत कम भईहाल्छ ।

तर, यी कुरा कार्यान्वनय ल्याउनु पूर्व सरकारले केही तयारी त गर्नुपर्छ ।

पहिलो काम,  नीति बनाउनु पर्छ,  अब देखि जेनेरिकमा जाने भनेर ।

दोस्रो काम,  जेनेरिक कम्पनी खोल्ने बाताबरण तयार गर्नुपर्छ । त्यसका लागि राज्यका तर्फबाट सहुलियत प्रोत्साहन हुनुपर्छ ।

कम्पनी खुलिसकेपछि जेनेरिक फार्मेसी खोल्नुपर्छ । कम्तिमा सरकारी स्वास्थ्य संस्थामा यी फार्मेसी सञ्चालनमा आउनुपर्छ ।

विना मार्केटिङ सप्लाई गर्न पाउँदा एम्लोडिपिनको मूल्य ५० पैसा राखेको हामीले देखेकै छौँ । त्यो पचास पैसामा पनि नाफा राखेर पुगेको हो । त्यसैले औषधिको मूल्य उत्पादन पछिको व्यवस्थापन वा प्रमोशनले बढाउने हो ।

जेनरिक नेममा गुणस्तरको ग्यारेन्टी हुन्छ त ?
म आफै पनि एक दशक बढी भयो औषधि क्षेत्रमा क्रियाशिल रहेको । मैले मात्रै होइन मेरा सिनियर तथा जुनियर कुनैपनि फर्मासिष्टले औषधिको गुणस्तरको ग्यारेन्टी लिन सक्दैन, चाहे त्यो जेनरिक होस वा ब्राण्ड ।

यसका लागि सरकारले औषधि व्यवस्था विभाग खडा गरेको छ । यस विभागले औषधिको गुणस्तर मापन गर्ने, बजारमा प्रवेश गर्न दिने कि नदिने ? आदिबारे नियमन गर्छ । जब यो विभागले औषधि जाँच गरी ठीक छ भनेर भन्छ भने अरुले त्यसको गुणस्तर ठिक छैन भनेर कसरी भन्न मिल्छ ? नियमले त्यसो भन्नै मिल्दैन ।

तर कहिलेकाँही डाक्टरले गरेका कुराहरु व्यवहारिक रुपमा देखिन्छन् । सरकारी निकायकै लु पोल्सहरु प्रयोग गरी कम गुणस्तरका औषधिहरु भित्रिएको यदाकदा देखिएको छ । जस्तो कि सरकारी ल्यावमा परीक्षण गर्न ढिलाई गराउने र निजीमा गएर लिएर आउ भन्ने चलन पनि छ । त्यसको आधारमा स्वीकृति दिदा कहिलेकाँही बदमासी गरेका भेटिइका छन् । यी कुरामा गम्भीर हुनैपर्छ भन्ने मेरो मान्यता हो ।

ब्राण्डेड कम्पनीलाई के गर्ने ?
ब्राण्ड कम्पनीललाई केही गर्नु पर्दैन । जनतालाई औषधि छान्ने (च्वाइस) को अधिकार हुनुपर्छ । मलाई डाक्टरले एमोक्सिलिन लेखेर दियो मैले भने म जेनेरिक खान्न भन्यो भने ब्राण्डेडको फार्मेसीमा गएर किन्छु भन्नु पर्‍यो  । त्यहि आधारमा चिकित्सकले लेखिदिन्छन् पनि ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “औषधिमा ‘जेनरिक’ र ‘ब्राण्ड नेम’को विवाद किन ?”

  1. प्रदिप जी

    यो देसमा ब्रान्डेड औषधी नै छैन। सबै औषधीहरू trade name राखिएका जेनरिक औषधी हुन।एक पल्ट सबैले whoको परिभाषा हेर्न हुन सादर अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *