टिचिङ अस्पतालको निर्देशक बन्न ६ जनाको निवेदन, सर्च कमिटिले छान्नै सकेन नाम

काठमाडौँ, १५ साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रिक्त रहेको निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित सर्च कमिटिले दुई महिना पुग्न लाग्दा समेत आफ्नो काम सम्पन्न गर्न सकेको छैन् । बरु नियम विपरित देखिने अनावश्यक मापदण्ड बनाई आफ्नो काममा ढिलाई गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयले गत जेठको तेस्रो साता पदावधी सकिएका अस्पतालका निर्देशक प्राडा दीपक महराको स्थानमा नयाँ निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न त्यतिवेलै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि गठन गरेको थियो ।

उक्त कमिटिको सदस्यहरुमा प्राडा जीवन शेरचन र सह प्राध्यापक डा रमेश सिंह भण्डारी रहेका छन् ।

तर समितिले संयोजक तथा सदस्यहरुको व्यस्तता भन्दै नाम सिफारिस गर्न सकिरहेको छैन् । बरु बरिष्ठताका आधारमा नाम सिफारिस गर्ने भन्दै त्रिवि नियम विपरितका मापदण्ड बनाई गैरजिम्मेवार कार्यहरु गरिरहेको आरोप लाग्न थालेको छ ।

निर्देशक हुन् सह – प्राध्यापकले निवेदन दिनै नपाउने
डीन प्राडा अग्रवाल संयोजक रहेको सर्च कमिटिले केही समय अघि निर्देशक हुन इच्छुकहरुलाई आफ्नो कार्ययोजना सहित निवेदन दिन विज्ञापन गर्यो । तर त्यसमा प्राध्यापक र चार बर्ष कार्यकाल नभएकाहरुलाई निवेदन पेश गर्नै नपाउने मापदण्ड बनाइयो ।

जवकी त्रिविको रातो कितावमा शिक्षण अस्पतालको निर्देशक हुनका लागि सहप्राध्यापक वा सो भन्दा माथिल्लो पोष्टका व्यक्तिले पाउने प्रावधान छ । त्यस्तै ४ बर्षे पदावधी हुनैपर्छ भन्ने पनि छैन ।

सर्च कमिटिले सह प्राध्यापकलाई निवेदन नै हाल्न नदिने गरी गैरकानूनी मापदण्ड बनाएको भन्दै आइओएममा विरोध समेत भएको छ । सह प्राध्यपक डा प्रदीप ज्ञवाली भन्छन्, ‘अहिलेको सर्चकमिटिको कार्य नियम विपरित छ । यसलाई तत्काल सच्याउनुपर्छ । हाम्रो अधिकारमाथि हनन् गर्न पाइदैन् ।’

प्राध्यापकको अन्तरवार्ता सहप्राध्यापकले लिँदै
सर्च कमिटिले निवेदन पेश गरेकाहरुलाई मौखिक अन्तरवार्ता समेत लिने व्यवस्था गरेको छ । सह प्राध्यापक रहेको सर्च कमिटिलाई अन्तरवार्ता दिन जानु अनौठो भएको निवेदन हाल्नेहरु नै बताउन थालेका छन् ।

सर्च कमिटिका सदस्य डा भण्डारी सहप्राध्यापक हुन् । तर डीन अग्रवालले निवेदन दिएका निर्देशकका आकाक्षीहरुलाई अन्तरवार्ताका लागि बोलाइसकेका छन् ।

‘यस्तो व्यवस्था कहि कहिल्यै भएन । यो सर्च कमिटिले नाम सिफारिस मात्रै गर्ने हो छनौट गर्ने होइन । तर यहाँ त सर्च कमिटिले नै छनौट गरी नियुक्ति दिने जस्तो भयो । सह प्राध्यापकलाई प्राध्यापक गएर अन्तरबार्ता दिनुपर्ने भयो,’एक जना सदस्यले भने ।

को को छन् निवेदन हाल्ने ?
निवेदन ६ जनाको परेपनि सर्च कमिटिले तोकेको मापदण्ड अनुसार प्रतिस्पर्धामा ५ जना देखिएका छन् । प्राडा वाइपी सिंह, प्राडा दिनेश काफ्ले, प्राडा इश्वर लोहनी, प्राडा रोहीतकुमार पोखरेल र प्राडा प्रदीप वैद्य ।

प्राडा रामेश्वर पोखरेलले पनि निवेदन त हालेका छन् । तर उनको कार्यवधि चार बर्ष पुरा छैन । त्यसैले उनी प्रतिस्पर्धाबाट बाहिर रहेको त्रिवि परिषरमा चल्ने गरेको छ ।

सम्भावनामा को को ?
शिक्षण अस्पतालको निर्देशक यो व्यक्ति हुन्छ भनेर अहिले नै भन्ने अवस्था छैन । तर यसपटक पनि शिक्षण अस्पतालको निर्देशक पद डा गोविन्द केसीकै खल्तीमा रहेको जानकारहरु बताउँछन् । उनीहरुले डा केसी जसको पक्षमा देखिन्छन् त्रिवि पदाधिकारीहरुले उनैलाई छनौट गर्दछन् भन्ने आँकलन गरेका छन् ।

उनीहरुको आँकलन सरकारसंग नौँ बुँदे सम्झौँता गरी २७ दिन लामो अनशन तोडेका डा केसीले यतिवेला गौरिवहादुर कार्की आयोगको प्रतिवेदनलाई अस्त्रको रुपमा प्रयोग गर्न सजिलो छ ।

त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार तीनै जना कार्की आयोगले दोषी ठहर गरेको व्यक्तिहरु हुन् । त्यसैले यतावाट गएको सिफारिसमा पनि फलानोलाई नियुक्त गर भनेर केसीले निर्देशन दिए भने पदाधिकारीले नमान्ने सम्भावना कमै हुन्छ । त्रिवि स्रोतले भन्यो ।

फेरी डा केसीकै कारण डीन बनेका डा अग्रवाल अहिले संयोजक पनि छन् । आफूले भनेका मान्छेहरु हुनै पर्ने अडानमा रहने डा केसीले डीन अग्रवालको नियुक्तीका बेला बरिष्ठताको मापदण्डको खुलेर वकालत गरेका थिए भने अस्पतालको निर्देशकमा डा महरा आउँदा मौन बसिदिएका थिए ।

को होला त निर्देशक ?
आइओएम स्रोतका अनुसार प्राडा वाईपी सिंह निर्देशकका लागि यतिवेलाका प्रमुख दावेदार हुन् । डा केसीको आन्दोलनमा जहिल्यै सहयोगी बन्ने, डीन डाक्टर अग्रवालको समेत रोजाइको व्यक्ति भएकोले उनको सम्भावना बढी भएको स्रोत बताउँछ ।

यस्तै अर्का दावेदारी प्राडा ईश्वर लोहनीको पनि छ । डा भगवान कोइराला निर्देशक बन्दा सहायक निर्देश कबनेका लोहनीले त्यसबेला पूर्ण कार्यकाल भने चलाउन सकेनन् । उनी बीचमै राजिनामा दिएका थिए ।

यस्तै अर्का दावेदार हुन् । प्राडा दिनेश काफ्ले । यसअघि सहायक निर्देशकको रुपमा पूर्ण कार्यकाल चलाएको भन्दै उनले आफ्नो दावी प्रस्तुत गरेका छन् ।

यता पूर्व असिस्टेन्ट क्याम्पस चिफ प्राडा रोहित कुमार पोखरेलको र अर्का प्राडा प्रदीप बैद्यले पनि आफ्नो दवी प्रस्तुत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *