चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छ : स्वास्थ्यमन्त्री
काठमाडौँ, ३२ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताए ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त विचार व्यक्त गरे ।
उनले भने, “नेताजीहरुले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एक खालेको प्रदूषण भित्रिन थालेको छ ।”
उनले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई स्तरोन्नति गर्न प्रशस्त स्रोत दिएर मात्र नहुने त्यसका लागि अस्पताल टिमको प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गरे ।
उनले अस्पताल प्रशासन स्वयम्ले अग्रसरता नलिँदा मन्त्रालयबाट दिइएको बजेटको उपयोग हुन नसकेको टिप्पणी गरे ।
धेरै मेडिकल कलेज खोल्नुभन्दा भएका सरकारी अस्पतालको गुणस्तर, उपकरण, विशेषज्ञ सेवा विस्तार, ग्रामीण जनतालाई उपचारमा पहुँच पु¥याउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उनको जोड थियो ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा दीपकप्रकाश महराले तीन वर्षदेखिको प्रयासपछि कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अन्तिम तयारीमा पुगेको बताए ।
उनले पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा कलेजो प्रत्यारोपणका लागि बजेट विनियोजित भएपछि भौतिक पूर्वाधार तयारीको अन्तिमचरणमा रहेको र आफ्नै जनशक्तिबाट नियमित प्रत्यारोपण सेवा उपलब्ध गराउने गरी कार्य थालनी गरिएको जानकारी दिए ।
भौतिक पूर्वाधार तयार गर्न स्वास्थ्य मन्त्रालयले अस्पताललाई रु ११ करोड विनियोजित गरेको थियो । आज उद्घाटन गरिएको अत्याधुनिक सघन उपचार कक्षसहित कलेजो प्रत्यारोपणका लागि आवश्यक उपकरणलगातका लागि रु आठ करोड खर्च भएको अस्पतालले जनाएको छ ।
कलेजो प्रत्यारोपण टिमका संयोजक कजेलो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले सेवा शुरु गर्न कम्तीमा दुई महिना लाग्ने जानकारी दिए । उनले भने,“सबै प्रक्रिया सकिएपनि सरकारले सञ्चालन गर्न लाइसेन्स दिनुपर्छ, त्यस लागि मन्त्रालयमा एक डेढवर्षदेखि प्रत्यारोपण समिति छैन, मन्त्रालयमा भनिरहेका छांै, स्वास्थ्यमन्त्रीले बनाएको भन्नुभएको छ ।”
नेपालबाट हरेक वर्ष करीब चार सयबढी बिरामीलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सक बताउछन् । वर्षेनी नेपालबाट भारतमा कलेजो प्रत्यारोपणका लागि रु ६० लाखसम्म बाहिरिने गरेको छ । रासस
सम्पर्क इमेल : [email protected]